महोत्तरी। महोत्तरीको गौशालामा संचालित डेन्टल क्लिनिकको अनुगमन हुने सूचनापछि संचालकहरु क्लिनिक्बन्द गरेर भागेका छन्।
सोमबार नेपाल मेडिकल काउन्सिलको टोली अनुगमनका लागि गौशाला पुगेको थियो। सो क्रममा अनुगमन गर्न खोज्दा डेन्टल क्लिनिकका संचालकहरु क्लिनिक नै बन्द गरेर फरार भएका हुन्।
अनुगमन टोलीमा नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय अध्यक्ष डा. अजय कुमार शाहसहित नेपाल डेन्टल एसोसिएसन महोत्तरीका अध्यक्ष डा. गंगाराम खर्गा र नेपाल डेन्टल एसोसिएसन घनुषाका महासचिव डा. सुमन कर्णसहितको टोली सहभागी थियो।

अनुगमनमा सहभागी डा. अजय कुमार शाहका अनुसार अनुगमन टोली गौशाला पुग्दा बजारमा रहेका केही डेन्टल क्लिनिक बन्द अवस्थामा रहेका थिए भने सञ्चालक सम्पर्कविहीन थिए। टोलीले क्लिनिक बारे स्थानीयसँग चासो राख्दा अनुगमन टोली आएपछि बन्द गरिएको बताएका थिए।
डा. साहका अनुसार क्लिनिक सञ्चालनसम्बन्धी दर्ता, चिकित्सकको एनएमसी दर्ता, सेवा प्रदान गर्ने जनशक्तिको योग्यता तथा अन्य आवश्यक कानुनी कागजातबारे आवश्यक छानबिन हुँदै थियो। झनै संचालक फरार भएपछि गौशालामा संचालनमा रहेका डेन्टल क्लिनिकहरुको वैधानिकतामाथिसमेत प्रश्न उठेको छ।
बन्द रहेका क्लिनिकहरुलाई अब आवश्यक प्रमाण तथा तथ्य संकलन गरी प्रचलित कानून तथा सम्बन्धित निकायको नियमअनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने अनुगमन टोलीले जानकारी दिएको छ।



