मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाल सङ्गठनमा रहेका बालबालिकाको अवस्था स्वास्थ्य तथा सुरक्षाका दृष्टिले गम्भीर, २० जनाको उद्धार

बाल सङ्गठनमा रहेका बालबालिकाको अवस्था स्वास्थ्य तथा सुरक्षाका दृष्टिले गम्भीर, २० जनाको उद्धार

images
२०८३ श्रावण २ गते, शनिवार
२०८३ श्रावण २ गते, शनिवार
  • काठमाडौँ। नेपाल बाल सङ्गठनमा रहेका बालबालिकाको अवस्था स्वास्थ्य तथा सुरक्षाका दृष्टिले गम्भीर र जोखिमपूर्ण पाइएपछि २० जना बालबालिकाको उद्धार गरिएको छ।

    images

    नेपाल बाल संगठनको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा शनिबार शिक्षा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन गरेको थियो। सो क्रममा दुवै मन्त्रालयको समन्वयमा २० जना बालबालिकाको उद्धार गरिएको हो।

    images

    अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा स्नानगृह (बाथरुम) अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा कोचिएर राखिएको भेटिएको थियो।

    यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको अनुगमन टोलीको निष्कर्ष छ।

    मन्त्रालयले नेपाल बाल सङ्गठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबासलाई व्यवस्थित बनाउन विभिन्न समयमा पटक–पटक निर्देशन दिँदै आएको छ। यस्तो गुनासोपछि मन्त्रालयले यसअघि सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरेको थियो।

    तर, निर्देशन र आग्रहका बाबजुद अपेक्षित सुधार नभएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाएको जनाएको छ।

    पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्ति तथा बालगृहका केही कर्मचारीबाट समेत त्यहाँको दुरावस्थाबारे भिडियो सामग्री मन्त्रालयमा प्राप्त भएका थिए।

    ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए।

    यसैका आधारमा बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र आठ जना बालिका छन्।

    उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी बालबालिकाको अवस्थाको समेत मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend