काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ।
सो नगरपालिकालाई जनस्वास्थ्य कार्यालय, काठमाडौंले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेको हो।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले भने, `पूर्ण खोप घोषणा हाम्रो अन्तिम लक्ष्य होइन, अझ ठूलो जिम्मेवारीको सुरुवात हो, खोपको गुणस्तर, कोल्ड चेन व्यवस्थापन तथा निरन्तर निगरानीलाई प्रभावकारी बनाउँदै खोपबाट रोकथाम गर्न सकिने रोगमुक्त समाज निर्माणमा सबैको सहकार्य अपरिहार्य छ।´
उनले यस सफलतामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHV), स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाको अथक मेहनत, समर्पण र सहकार्यको महत्वपूर्ण योगदान रहेको बताए।
खोप समन्वय समितिका अध्यक्ष सनेत रहेका नगर प्रमुख कार्कीले स्वयंसेविकाहरूको समर्पित सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि चुनौतीहरूको सामना गर्दै प्रत्येक बालबालिकाको खोप पाउने अधिकार सुनिश्चितक्त गर्ने बताए।
स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप तथा सुनिश्चित दिगोपना घोषणा कार्यक्रम समग्र खोप अभियानको एक उपलब्धि भएको नगरपालिकाले जनाएको छ।
१५ मुनिका सबै बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउने तथा छुटेका बालबालिकालाई खोजी–खोजी खोप प्रदान गर्ने अभियान सफल भएको नगरपालिकाले जनाएको छ।



