भरतपुर। अविरल मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक अवरुद्ध भएको छ।
लगातारको वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो खस्दा सो सडक दुईतर्फी रूपमा नै अवरुद्ध छ।
आचार्यका अनुसार सडकमा अलपत्र परेका यात्रु र सवारीसाधनलाई भने सोमबार राति अबेरसम्म पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
मंगलबार बिहान ६ः३० बजेसम्म पनि निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
उक्त सडक खण्डको जलवीरे नजिकै पुनः पहिरो खसेपछि सडक खुलाउन आवश्यक मेसिन परिचालन गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिए।
उनका अनुसार निरन्तर वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालयले मुग्लिन–नारायणगढ सडक हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ। निरन्तर वर्षा र पहिरो जाने क्रम जारी रहेकाले अत्यावश्यकबाहेक यस सडकखण्डबाट यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
यसैबीच, चितवनको भरतपुर, पूर्वी चितवन तथा जिल्लाका अन्य दर्जनौँ स्थान जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। भरतपुरका धेरै विद्यालयले प्रतिकूल मौसमका कारण मङ्गलबार पठनपाठन सञ्चालन गर्न नसकिने जनाउँदै सूचना जारी गरेका छन्।



