हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश भित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाले बागमती प्रदेशमा विशेष गरी काठमाडौ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, दुर्घटनामा परी मृत्यु हुनेको क्षतिपूर्ति समस्या र उपचार सम्बन्धि समस्याका सम्बन्धमा सहजीकरण गरिदिन बागमती प्रदेश सरकारलाई आग्रह गरेका थिए।
सो आग्रहपछि मुख्यमन्त्री बानियाँले प्रदेश सरकार ट्राफिक समस्या समाधान गर्न, मृतकलाई क्षतिपूर्तिको उचित व्यवस्थापन गर्न र घाइतेको उपचारका सन्दर्भमा व्यवसायीसँग मिलेर समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए।
सिटौलाले दुर्घटनापछि घाइतेहरूलाई महँगा प्राइभेट अस्पतालमा उपचार गर्नु पर्ने र बीमाबाट ३ लाख मात्र क्षतिपूर्ति पाउने अवस्था रहेको हुँदा व्यवसायीलाई समस्या परेको मुख्यमन्त्री बानियाँ समक्ष गुनासो गरेका थिए।
जवाफमा मुख्यमन्त्री बानियाँले भने प्रदेश सरकारले आफ्नो मातहतका अस्पतालहरूमा ट्रमा सेन्टरको विकास गरी पहिला सरकारी अस्पतालमा मात्र घाइतेको उपचार गर्ने गरी प्रबन्ध मिलाउन कानुनी व्यवस्था मिलाउने काममा आफू सक्रिय भएर लाग्ने बताए।
भेटका क्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश केन्द्रीय राजधानी समेत रहेको प्रदेश भएको र यस प्रदेश भित्र मुलुकको ६० प्रतिश भन्दा बढी सवारी भार भएको हुँदा सार्वजनिक यातायातको सबैखाले समस्या समाधान गर्नु चुनौतीपूर्ण रहेको भएपनि आफू यातायातका समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाए।



