मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चितवनका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवनका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

images
२०८३ आषाढ २६ गते, शुक्रवार
२०८३ आषाढ २६ गते, शुक्रवार
  • चितवन। चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले जिल्लाका सात वटै स्थानीय तहमा विशेषज्ञ सेवा विस्तार गर्ने तयारीसहित योजना अघि बढाएको छ।

    images

    भरतपुर अस्पतालले अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप उच्च भएपछि जिल्लाका सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको हो।

    images

    त्यसका लागि भरतपुर अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने भएको हो।

    यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल अघि बढाइसकेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेले जानकारी दिए।

    अस्पतालको सेवा सुरु गर्ने बारे पहिलो चरणमा भरतपुर अस्पतालको टोलीले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गरिसकेको छ।

    अध्ययनपछि डा.बगालेले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने तयारी भइरहेको जानकारी दिए।

    “भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै शारदानगर हेल्थपोष्टबाट अस्पतालको सेवा अघि बढाउँछौँ।” डा. बगालेले भने।

    यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुखसँग छलफल भइरहेको भन्दै उनले अन्य पालिकाहरुसँग पनि आवश्यक छलफल अघि बढाइएको बताए। डा. बगालेले पालिका-पालिकामा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पुगेपछि अस्पतालमा घुइँचो कम हुने विश्वास व्यक्त गरे।

    उनले भने, “स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा हामी दिँदैछौँ।” ती अस्पतालहरूमा प्राथमिक र विशेषज्ञ सेवा दिने भन्दै उनले भरतपुर अस्पतालले अति विशिष्टिकृत सेवालाई प्राथमिकतामा राखेर उपचार गर्ने बताए।

    डा बगालेले भने, “सामान्य समस्या लिएर भरतपुर अस्पताल आउनु पर्ने बाध्यताको अन्त्य गर्न यो अभियान सञ्चालन गर्दैछौँ।” सबै पालिका सकारात्मक भएमा दुई वर्षभित्रमा भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टिकृत सेवामा जोड दिन सकिने उनले बताए।

    उनका अनुसार भरतपुर अस्पतालमा दैनिक ओपिडी सेवाका लागि तीन हजारसम्म बिरामी आउने गर्दछन्। सामान्य समस्या लिएरसमेत बिरामी यहाँ आउनु पर्दा व्यवस्थापनमा जटिलता थपिएको छ भने बिरामीले पनि सास्ती पाइरहेका छन्।

    भरतपुर अस्पतालले विस्तारित सेवा प्रभावकारी भएसँगै देशभर यो अभियानलाई विस्तार गर्न सकिने डा बगालेले बताए। अहिले ७० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बीमाका रहेका जनाउँदै उनले यसले बीमाका बिरामीलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend