सुर्खेत। सुर्खेतबाट कालीकोटको रास्कोट नगरपालिकाका लागि छुटेको यात्रुवाहक गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको छ।
कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा कर्णाली प्रदेश ०३–००१ ख. १०५५ नम्बरको उक्त गाडी दुर्घटना भएको हो।
सो गाडी सडकबाट करिब पाँच सय मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ। रास्कोटका स्थानीय बासिन्दा सुरेन्द्रराज सज्यालका अनुसार गाडी पूर्ण रूपमा नदीमा डुबेकाले त्यसमा कति यात्रु सवार थिए र उनीहरूको अवस्था के छ भन्ने कुरा पत्ता लाग्न सकेको छैन।
दुर्घटनामा परेर एक जनाको मृत्यु भएको र शव फेला परेको प्रहरीले जनाएको छ। ती ब्यक्तिको पहिचान भने खुलेको छैन।
अहिले घटनास्थलमा स्थानीय बासिन्दा र सेना तथा प्रहरीहहितका उद्धार टोली खटिएका छन्। उनीहरू खोजी कार्यमा जुटिरहेका छन्।
दुर्घटनास्थलमा भेटिएको चलानीमा रास्कोट नगरपालिका वडा नम्बर २ की सिर्जना खड्काको नाम उल्लेख छ। त्यस्तै, अर्का एक व्यक्तिको नाम उल्लेख नभए पनि मोबाइल नम्बर मात्र लेखिएको पाइएको छ, तर उक्त नम्बरमा अहिले फोन लागिरहेको छैन।
प्रहरीका अनुसार दुर्घटना स्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीको गहिराइमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन। घटनास्थलबाट एक जना घाइतेको उद्धार गरिएको छ। तर उनी बोल्न सक्ने अवस्थामा छैनन्। हाल बेपत्ता गाडी र यात्रुहरूको खोजी कार्य जारी राखिएको छ।
यातायात समितिका कर्मचारी महेश न्यौपानेले गाडीमा कति यात्रु चढेका थिए भन्ने यकिन गर्न काउन्टरमा खटिएका कर्मचारीसँग फोन सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी छ।



