काठमाडौँ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले सदर चिडियाखाना प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाएको छ।
सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भएको विषय कोषको केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा साहलाई कोषको अध्यक्ष समेत रहेकी कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा जिम्मेवारीबाट हटाइएको हो। उनीमाथि छानबिन सुरु गरिएको छ।
कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा ३ सदस्यसीय छानबिन समिति बनाएको छ।
समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन्। दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ। साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ।
पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएको थियो। चिडियाखानामा करिब १० दिनअघि बाटै पन्छी र जनावर मरेका भएपनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै नदिएको कोषको दाबी छ।
चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु फेला परेको थियो।
रोग संक्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई विभागीय कारबाही गर्दै जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको हो।



