काठमाडौं। औषधि व्यवस्था विभागले ठूलो संख्यामा औषधि पसलको दर्ता प्रमाणपत्र रद्द गरेको छ।
विभागले सोमबार (असार २ गते) सूचना जारी गर्दै समयमा नवीकरण नगरी म्याद समाप्त भएका देशभरका ५ हजार ३०२ वटा औषधि पसलहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको हो। विभागले २०८३ जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको सूची समेत सार्वजनिक गरेको छ।
औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्था बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि, नवीकरण तथा सो सम्बन्धि अन्य ब्यवस्था लागू गरिएको विभागले जनाएको छ।
विभागका अनुसार उक्त ऐनको दफा ११ को उपदफा ५ मा `तोकिएको अवधि भित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्र संवत: रद्द हुने र सोको जानकारी सम्बन्धित ब्यक्ति, संस्था वा सरोकारवालालाई उपलब्ध गराउनु पर्ने´ ब्यवस्था रहेको छ।
`सोही ब्यवस्था बमोजिम औषधि ब्यवस्था विभागबाट जारी भएका औषधि पसल संचालन सम्बन्धि प्रमाणपत्रहरु मध्ये तोकिएको अवधि भित्र नवीकरण नगरिएका तथा नवीकरण म्याद समाप्त भएका औषधि पसलहरुको दर्ता प्रमाणपत्र (अनुसूची ९) संवत: रद्द भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।´ विभागद्वारा जारी सूचनामा भनिएको छ।
सूचनामा विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै औषधि बिक्री–वितरण तथा सञ्चालनका क्रममा प्रचलित कानुनी व्यवस्था र विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न पनि विभागले अनुरोध गरेको छ।
विभागका अनुसार कानुनले तोकेको अवधिभित्र नवीकरण नगरेका अनुमतिपत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वतः रद्द हुने व्यवस्था रहेको छ।



