भक्तपुर। भक्तपुरको सुर्यविनायक नगरपालिकाको वडा नम्बर १ ले चालू आर्थिक वर्ष २०८२/०८३ मा अघि सारेका ६५ वटा योजना मध्ये २४ योजना सम्पन्न गरेको छ।
चालू आवमा ६५ योजना अघि बढाइएकोमा २४ वटा सम्पन्न भएको र २९ योजना चालू अवस्थामा अन्तिम चरणमा रहेको तथा १२ वटा सम्झौता गर्न बाँकी रहेको वडा अध्यक्ष सानुकाजी कायस्थले जानकारी दिए। सोमबार क्रियाशिल पत्रकार मञ्च भक्तपुर र सुर्यविनायक नगरपालिकाको आयोजनामा वडा कार्यालय सिरुटारमा आयोजित सार्वजनिक सुनुवाईका क्रममा यो विवरण सार्वजनिक गरिएको हो।
वडा अध्यक्ष कायस्थका अनुसार चालू आर्थिक वर्षमा वडालाई नगरपालिकाबाट २ करोड ६० लाख विनियोजन भएको थियो। यस्तै संघीय सरकार र प्रदेश सरकारबाट गरि ७ करोड रकम प्राप्त भएको थियो। सोही वजेटबाट ती योजना अघि बढाइएको हो।
सो वडाले भौतिक विकास अन्तर्गत सडक पुर्वाधारमा उल्लेख्य प्रगति गरेको छ। वडा अध्यक्ष कायस्थका अनुसार वडा भित्रका प्राय सबै सडक कालोपत्रे भइसकेको छ भने बाँकीमा समेत कालोपत्रे गर्ने योजना बनिसकेको छ।
`वर्षामा हिलोमा हिड्न नपर्ने गरेर काम अघि बढेको छ, अब हिलो सडकमा हिड्नु पर्ने अवस्थाको अन्त्य हुँदैछ।´ वडा अध्यक्ष कायस्थले भने

यसैगरी आफ्नो कार्यकालमा वडा भित्र स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत लगायतका क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको वडा अध्यक्ष कायस्थ बताउँछन्।
`चालू आवमा बा देखि बालबालिकासम्म ४६८ जनाको दन्त परीक्षण गरिएको छ, खानेपानी वितरणमा हामी सफलता नजिक छौं, १६ सय धारा मार्फत पानी वितरण भइरहेको छ।´ उनले भने।
सो वडाले चालू आवमा शिक्षा र स्वास्थ्य तर्फ ६ लाख रकम विनियोजन गरेको थियो।
यसैगरी स्थानीय कला संस्कृति, सांस्कृतिक सम्पदा र भाषाको संरक्षणमा पनि आफू नेतृत्वमा आएपछि उल्लेख्य काम भएको उनको जिकिर थियो।
`धर्म संस्कृतिका क्षेत्रमा मठ मन्दिरको संरक्षण र विस्केट् जात्रामा मानिने बालकुमारी मन्दिरको संरक्षणमा पनि काम गरेका छौं।´ वडा अध्यक्ष कायस्थले थप्दै भने।
उनले चरखन्डी र ढुग्रे खोलाको फोहोर ब्यवस्थापनमा काम गरिएको, खोलाका फोहोर सरसफाइ गरेर घरमै फोहोर लिन आउने ब्यवस्था गराइएको, सडक फुटपाथमा फुल रोप्ने काम, वनको संरक्षण, वृक्षारोपण गरिएको समेत जानकारी दिए।
यसैगरी वडा भित्र पर्ने सिरुटार देखि बिरुवा बिन्दवादिनी मन्दिरसम्मको साँढे ५ किलोमीटर क्षेत्रमा ३० वटा सिसि क्यामेरा जडान गरिएको, खेलकुदलाई प्राथमिकतामा राख्दै फुटसल संचालनमा ल्याइएको, लागुपदार्थ दुर्ब्यवसनी नियन्त्रणमा प्रहरी बृत्त ठिमिसँग सहकार्य गरिएको, नमुना बाटो थापागाउँबाट लुभु जाने निर्माण सम्पन्न भइसकेको वडा अध्यक्ष कायस्थले जानकारी दिए।
कार्यक्रममा वडा सचिव राम श्रेष्ठले वडा भित्र ५ सय ५४ जना जेष्ठ नागरिकका लागि ४ लाख वजेट विनियोजन गरिएको जानकारी दिए। सो वजेट मर्फत जेष्ठ नागरिक भ्रमणदेखि लक्षित कार्यक्रम गरिएको उनले बताए। यस्तै सो वडामा चालू आवमा २९ जना नयाँ जेष्ठ नागरिक थप भएको र १९ जनाको मृत्यु भएको उनले जानकारी दिए
यस्तै अपांगता भएका ब्यक्तिहरुका लागि चालू आवमा झुल र पौष्टिक आहारका लागि २ लाख वजेट विनियोजन गरिएको वडा सचिव श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा प्रहरी बृत्त ठिमीका डीएसपी निशान्त थापाले पछिल्लो समय लागूऔषधको कुलतमा फस्नेहरु बढ्दै गएको हुँदा हरेक वडावासीले यस्ता कुरामा ध्यान दिनु पर्ने बताए। उनले घर भाडामा बस्ने मान्छे के गर्छ भन्ने जानकारी लिएर भाडामा दिन, नागरिकतासहितका विवरण राख्न पनि वडावासीमा आग्रह गरे।
डीएसपी थापाले पछिल्लो समय देशमा `हिट एन्ड रन केस´ धेरै बढिरहेको अवस्था रहेको बताउँदै सीसीटीभी मार्फत अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सजिने हुँदा प्रविधिको प्रयोगमा ध्यान दिन वडा नेतृत्वलाई आग्रह गरे।

कार्यक्रम आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश गिरिले सार्वजनिक सुनुवाईले नेतृत्वलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन भुमिका खेल्ने बताए।
आफू पनि सोही वडाको वासिन्दा रहेको बताउँदै उनले `सार्वजनिक बसमा पानीको गाग्री र जार बोकेर पानी लिन बालकोट पुग्नु पर्ने अवस्था´ स्मरण गर्दै अहिले सो अवस्थाको अन्त्य भएको बताए।
कार्यक्रममा स्थानीय वडावासीहरुले मठमन्दिर निर्माण, सार्वजनिक जग्गाको संरक्षण, पार्किङको समस्या, लागूपदार्थ दुर्ब्यवसनी लगायतका विषयमा वडा नेतृत्वको ध्यानाकर्षण गराएका थिए।



