भक्तपुर। भक्तपुरको मध्यपुर थिमिस्थित वडा नम्बर ३ ले विकास निर्माणमा जनताको चासोलाई सम्बोधन गर्दै अघि बढेको पाइएको छ।
सो वडामा अहिले वडा अध्यक्ष कृष्णहरी आचार्य छन्। उनी २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।
आइतबार राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुर थिमि न.पा. ३ को सहकार्यमा आयोजना गरिएको वडागत विकास तथा सामाजिक कार्यहरूको स्थलगत अवलोकन एवं अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष आचार्यले आफ्नो वडा भौतिक विकासबाट अघि बढिसकेको बताउँदै अब जनताले नीतिगत तहको विकास चाहेको बताए
`म पहिलो पटक वडा अध्यक्ष भएदेखि जनतासँग भौतिक विकासमा जोडिएँ, यो वडाका हरेक घर हरेक गल्लीमा म पुगेको छु, दोस्रो कार्यकालमा वडा अध्यक्ष निर्वाचित बन्दै गर्दा अहिलेसम्म भौतिक विकासमा ८० प्रतिशत काम भयो, सँगै अब जनताले नीति निर्माणको विकास पनि खोजेका छन्, भौतिक विकाससँगै हरेक नागरिकले अब सुरक्षा खोजेका छन, टोलटोलमा सीसीटीभी जनताको माग छ, यस्तै सडक बत्ती विस्तारको माग भएको छ, आगामी आर्थिक वर्षका लागि टोल–टोलबाट करिब ९० वटा योजना माग भएको छ।´ वडा अध्यक्ष आचार्यले भने।

उनले सुरुवातमै आफू निश्चित उद्देश्य लिएर सेवाको भावसहित जनप्रतिनिधिका रुपमा अघि बढेको बताए। आफ्नो वडामा ५२ सय बढी घर रहेको बताउँदै वजेटका बारे टोलटोलमा भेला गरेर आफुले स्थानीय जनतासँग छलफल गरेको जानकारी दिए।
`भौतिक विकाससँगै अब मानसिक विकासलाई पनि महत्त्व दिनु पर्ने छ, मानसपटलमा परिवर्तन ल्याउनु पर्ने अवस्था छ, संस्कारको पालनामा परिवर्तन ल्याउनु पर्ने आवश्यकता छ, भौतिक विकासले मात्र चेतनाको विकास नहुने रहेछ।´ उनले थपे।
वडा अध्यक्ष आचार्यले चालु आर्थिक वर्षमा कार्यपालिकाबाट वडा नं. ३ लाई दुई करोड एक लाख रुपैयाँ बजेट प्राप्त भएको जानकारी दिँदै उनले संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा वार्षिक १२ देखि १३ करोड रुपैयाँ बराबरका योजना सञ्चालन भइरहेको बताए। उनका अनुसार हालसम्म ८० प्रतिशतभन्दा बढी योजना सम्पन्न भइसकेका छन्। पहिले मुख्य सडक बाहेक अन्य सडक कालोपत्रे नभएको अवस्था रहेको तर अहिले जताततै कालोपत्रे सडक रहेको बताए।
`२२ हजार घनमिटरमा सडक कालोपत्रे गर्न टेण्डर भएको थियो, तर झण्डै दोब्बर ३७ हजार घनमिटर सडक कालोपत्रे भएको छ।´ उनले अगाडि थपे।
उनले स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ लगायतका विषयमा गरिएका कामलाई पनि विकासकै रुपमा लिइनु पर्नेमा जोड दिए।
स्वास्थ्यतर्फ शहरी स्वास्थ्य केन्द्र मार्फत नागरिकको उपचार निशुल्क गरिएको र १९८ प्रकारका औषधि निशुल्क वितरण हुने बताए।
यसैगरी प्रशासनिक सेवा प्रवाहमा सहजता, जेष्ठ नागगरिकका लागि दिइने सेवा अन्तर्गत घरमै जेष्ठ नागरिकलाई भत्ताको ब्यवस्था मिलाइएको उनको भनाइ थियो। शिक्षा ऐन,सहकारी ऐन लगायतका धेरै ऐन कानुनहरु स्थानीय तहले नै बनाएकाले पहिले जस्तो केन्द्र सरकारकै मुख ताक्नु पर्ने अवस्था नरहेको उनको भनाइ थियो।
काम गर्दै गर्दा कतिपावस्थामा चुनौती पनि आउने बताउँदै उनले वडा भित्र सार्वजनिक जग्गा संरक्षणको समस्या रहेको भन्दै सरकारको नीति अनुसार नै वडा पालिका सार्वजनिक सम्पत्तिको संरक्षणमा अघि बढ्ने बताए।
कार्यक्रममा सहभागी गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनारबाबू बस्नेतले देशमा विकासको प्रक्रियालाई जनतासँग जोड्ने कुराको इन्जिनियरिङ हुन नसकेको अवस्थामा प्रत्यक्ष अवलोकन भ्रमणले अर्थ राख्ने बताए।
उनले विकास भनेकै जनताको जीवनमा परिवर्तन ल्याउनु भएको बताउँदै सानो लगानीबाट र कहिलेकाही लगानी विनानै पनि सुधार ल्याउन योगदान पुग्ने उल्लेख गरे।अविकासलाई चिर्न संचार माध्यमको महत्त्वपूर्ण भुमिका रहने बताउँदै बस्नेतले संचारकर्म त्यस दिशामा केन्द्रित हुनु पर्ने बताए।

यसैगरी नेपाल पत्रकार महासंघका पुर्व सचिव तथा वरिष्ठ पत्रकार रामजी दाहालले पत्रपत्रीकामा विकासका कुरा भन्दा राजनीति, हत्याहिंसाका विषय मात्र समाचार बन्ने गरेकोमा अहिले विकास पत्रकारिताले समाचारमा महत्व पाउन थालेको बताए।
२०३३ सालमा गोरखापत्रले विकास पत्रकारिताको सुरुवात गरेको उल्लेख गर्दै उनले संचारमाध्यमले स्थानीय तहमा भएका सानासाना सुधार र विकासका विषयलाई माध्यमका रुपमा जनतामाझ पुर्याउनु पर्ने र त्यसले सकारात्मक सन्देश दिने बताए।

कार्यक्रममा राष्ट्रिय संचार केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभापति पेशल आचार्यले जनताप्रति उत्तरदायी हुन स्थानीय तहले गरेका कामलाई पनि जनताका बीचमा पुर्याउनु पर्ने बताए। उनले सार्वजनिक सुनुवाइमार्फत जनताका गुनासो र सुझावलाई पनि नेतृत्वले ग्रहण गर्दा विकासमा चेतना पनि जोडिने उल्लेख गरे।
कार्यक्रममा केन्द्रका सल्लाहकार दिवस गुरागाईँले स्थानीय तहमा विकासका कस्ता मोडलमा काम गर्न सकिन्छ भन्ने बारेमा आफ्नो प्रस्तुतिकरण राखेका थिए।




