भक्तपुर। पश्चिम एसियायी मुलुकमा जारी द्वन्द्वको असर नेपालमा परेको एउटा उदाहरण बिहीबार एक स्थानीय तहका वडा अध्यक्षले सुनाए।
राष्ट्रिय सञ्चार केन्द्रको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा वडा नम्बर २ को सभा कक्षमा सार्वजनिक सुनुवाइ आयोजना गरिएको थियो। जनताका चासो, गुनासा र प्रश्न आउँदै थिए। विकास निर्माणदेखि, खानेपानी, शिक्षा, स्वास्थ्य, पार्क, खुला मैदान, सार्वजनिक जग्गा, विद्यालय भवन, शान्ति सुरक्षादेखि जेष्ठ नागरिकका विषयसम्म स्थानीयको चासो थियो। कतिपयले लागुऔषधको समस्याले हैरान पारेको पनि सुनाए।
वडा अध्यक्ष प्रदीप कार्कीले उठेका सवालमा जवाफ दिने पालो आयो। उनले आफुले सम्भावना देखेका केही विषयमाथी प्रश्न आएको तर केही आफुले सम्भावित सोचेका प्रश्न नआएको भन्दै आफ्ना भनाइको सुरुवात गरे।
`मलाइ कस्ता कस्ता प्रश्न सोधिएला भन्ने लागेर पहिले नै केही प्रश्न टिपोट गरेको थिएँ, अनुमान गरेका केही प्रश्न आए, केही कसैबाट पनि आएनन्,´ उनले आफ्नो भनाइ सुरु गर्दै भने, `गोदावरी खोलाको करिडोरको कुरा आयो, केही भागमा कालोपत्रेको काम भयो, केही बाँकी छ, बाँकीको टेन्डर भइसकेको थियो, पश्चिम एसियाली मुलुकमा भइरहेको द्वन्द्वको असरले निर्माण सामग्रीको भाउ बढ्यो, काम अहिले रोकिएको छ, तर अबको आर्थिक वर्षमा अघि बढ्छ।´
वडा अध्यक्ष कार्कीले भने जस्तै नेपालमा अहिले पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले असर पारेको छ। निर्माण सामग्रीमा अचाक्ली मूल्य वृद्धि हुँदा विकास निर्माणको काम ठप्प छ। जारी रहेका निर्माणका कार्यहरू पनि रोकिएका छन भने केही अलपत्र नै छन्।

चालू आवमा १ करोड ८८ लाख ४६ हजार आठ सय ७३ रुपैया राजश्व संकलन
सुर्य विनायक नगरपालिका-२ का वडा सचिव बालकृष्ण कासुलाले चालु आर्थिक वर्षमा रु एक करोड ८८ लाख ४६ हजार आठ सय ७३ रुपैया राजश्व संकलन गरेको जानकारी दिए।
वडा तथा कार्यपालिका गरी ४१ वटा आयोजनाहरु वडामा सञ्चालनमा रहेको जानकारी गराउँदै उनले भने, ‘वडा र नगरपालिका गरी चालू आर्थिक वर्षमा ४१ वटा आयोजनाहरुको लागि बजेट विनियोजन भएको थियो। जसमा २० वटा सम्पन्न भएका छन् भने १६ वटा निर्माणको क्रममा रहेका छन्। त्यस्तै चार वटा योजना सम्झौता हुन बाँकी छन्।
अन्य उठेका विषयमा वडा अध्यक्षले के भने?
कार्यक्रममा वडाध्यक्ष कार्कीले खानेपानीको समस्या समाधान गर्न उपत्यका खानेपानी लिमिटेड (मेलम्ची)सँगको सहकार्य भइरहेको जानकारी गराए।उनले अन्य विभिन्न विकल्प प्रयोग गरी केही मात्रामा भएपनि खानेपानीको सहजता पैदा गरेको दावी गरे।
यसैगरी उनले सडक तथा मुख्यमुख्य ठाउँहरुमा सीसीटिभी राखिएको जानकारी गराउँदै सडक बक्ती जडान तथा मर्मतसमेत गरिरहेको बताए। सडक, मठमन्दिर, ढल, फाल्चा, सामुदायीक भवन, पुल लगायतका जनताको लागि अति आवश्यकतालाई वडाले उच्च प्राथमिकता राखि काम गरिरहेको जानकारी गराउँदै उनले एम्बुलेन्स सञ्चालनमा रेडक्रसलाई सहयोग गरिरहेको पनि जानकारी गराए।

‘चुनावी प्रतिवद्धता अनुसार जनताको पक्षमा कार्यसम्पादन गरिरहेका छौ, सिमित स्रोत र साधनका बाबजुत पनि पूर्वाधार विकासमा फड्को मार्दै छौं, वडामा हामीले विभिन्न प्रकारका स्वास्थ्य शिविर, वडाबाट नै जेष्ठ नागरिक परिचयपत्र, धार्मिक भ्रमण, न्यानो कपडा वितरण, ८० वर्ष पुरा हुनुभएका जेष्ठ नागरिकलाई घरघरमा नै पुगेर सम्मान गरेका छौं।´ उनले भने।
वडा अध्यक्ष कार्कीले शिक्षा, स्वास्थ्य, सरसफाई, प्रदुषण नियन्त्रणका कार्यहरुलाई आवश्यकता अनुसार प्राथमिकतामा राखिएको पनि जानकारी गराए।
यसैगरी एसइइ फेल भएका विद्यार्थीलाई निशुल्क कोचिङ क्लासको व्यवस्थापन गरिएको, नेतृत्व विकास, योगा, शिक्षकलाई कम्प्युटर तालिम, क्षमता अभिवृद्धिका तालिम, सीपमुलक तालिम, ड्राइभिङ तालिम, वडाध्यक्षसँग सुत्केरी कार्यक्रम जस्ता असंख्य जनतासँग प्रत्यक्ष जोडिएर कामहरु गरिरहेको उनले सो क्रममा जानकारी गराए।
वडा अध्यक्ष कार्कीले हनुमन्ते सरसफाई गर्न मध्यपुरसँग समेत सहकार्य गर्नुपर्ने भएकाले अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेको स्वीकार्दै हनुमन्ते करिडोर निर्माण र त्यहाँसँग सम्बन्धी सार्वजनिक जग्गाको संरक्षणका लागि संघीय सरकारले सहयोग गर्नु पर्ने बताए।
वालवालिकाको वृद्धि विकास, संस्कार र नैतिकताका कार्यक्रमहरु अपरिहार्य रहेको पनि औंल्याए। उनले जेष्ठ नागरिकको सन्दर्भमा भावना अनुसार कार्य गर्ने पनि प्रतिबद्धता जनाए।
यसैगरी सार्वजनिक जग्गा खोज्ने कार्य भइरहेको उल्लेख गर्दै उनले हनुमन्ते खोलाले सूर्यविनायक तर्फ बहाव परिवर्तन गरेकाले समस्या भएको पनि बताए। मध्यपुर क्षेत्रमा आफ्नो तर्फको जग्गा गएको बताउँदै उनले उक्त जग्गा हालसाविक भई जग्गा खण्डीकरण तथा घर निर्माण समेत भइसकेकाले उक्त समस्या केन्द्र सरकारले समाधान गर्नुपर्नेमा जोड दिए।
आयोजक संस्थाका अध्यक्ष पेशल कुमार आचार्यले जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यकासाथ सार्वजनिक सुनुवाइ आयोजना गरिएको बताए।
कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने कार्यपालिका सदस्य प्रजुन तिखत्री, वडा सदस्य जनार्दन खड्का, भगत रानाभाट, कल्पना खतिवडा (दाहाल), रञ्जिता तिखत्री लगायत बाक्लो संख्यामा स्थानीयको उपस्थिती रहेको थियो।




