काठमाडौँ। अस्पताल संचालनका लागि स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका ११ स्वास्थ्य संस्थामाथि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ।
आफुखुसी शय्या थपेर अस्पताल चलाइरहेका ती ११ वटै स्वास्थ्य संस्थाको बढी देखिएको बेरुजु रकम सरकारले उठाउने तयारी गरेको हो। त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रक्रिया अघि बढाइसकेको छ।
मन्त्रालयले त्यस्ता अस्पतालहरुबाट करिब रु एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उठाउने तयारी सुरु गरिएको जनाएको छ। ती मेडिकल कलेजले स्वीकृति पाएभन्दा बढी शय्या थपेर अतिरिक्त आम्दानी गरिरहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्ने गरी काम सुरु गरिएको बताउँदै आएकी छिन्।
स्वीकृति पाएको भन्दा बढी शय्यामा अस्पताल चलाएर बढी शय्याको शुल्क नबुझाउने स्वास्थ्य संस्थाहरुमा चितवन मेडिकल कलेज ७ लाख, नेपाल मेडिसिटी अस्पताल ललितपुर १८ लाख, गण्डकी मेडिकल कलेज पोखरा १० लाख छ। यसैगरी नोबेल मेडिकल कलेज विराटनगर २४ लाख ४४ हजार, नेपाल मेडिकल कलेज १० लाख, किष्ट मेडिकल कलेज ललितपुर १८ लाख, धुलिखेल अस्पताल १७ लाख, मणिपाल कलेज पोखरा १८ लाख, काठमाडौं मेडिकल कलेज १८ लाख, देवदह मेडिकल कलेज ८ लाख, युनिभर्सल मेडिकल कलेज भैरहवा ३० लाख रुपैयाँ वक्यौता रहेको छ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाएको हो। महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।
महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि मेडिकल कलेजको यो प्रवृत्तिबारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो। सोही आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शय्या सङ्ख्या बराबरको दस्तुरबापतको थप रकम बेरुजुका रूपमा सङ्कलन गरी सञ्चित कोषमा दाखिला गर्न लागेको जनाएको छ।




