मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सार्वजनिक स्थलमा पुगेर सहयोगापेक्षी खोज्दै काठमाडौँ महानगरपालिका

सार्वजनिक स्थलमा पुगेर सहयोगापेक्षी खोज्दै काठमाडौँ महानगरपालिका

images
२०८३ जेठ २४ गते, आइतवार
२०८३ जेठ २४ गते, आइतवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिले सार्वजनिक स्थलमा पुगेर सहयोगापेक्षी खोज्ने कामलाई तिव्रता दिएको छ।

    images

    महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलमा बसेर माग्दै जीवन चलाइरहेका बेसहारा, अशक्त, असहाय, अभिभावक विहिन, सडक आश्रित व्यक्तिहरुको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक प्रमुख आफैँ उद्धारमा निस्किन थालेकी छन्। महानगरको टिम सहित उनी सहयोगापेक्षी खोज्ने कार्यमा सक्रिय बनेकी हुन्।

    images

    जेठ २३ गते कार्यवाहक प्रमुख आफैँ उद्धारमा खटिंदा उनको साथमा कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जन, वडा सदस्यहरु, महानगरपालिकाका निर्देशक वसन्त आचार्य, नेपाल प्रहरी, ट्राफिक प्रहरी र महानगर प्रहरी बलका अधिकारी, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, आनी छोइङ् डोल्मा फाउन्डेसका अध्यक्ष आनी डोल्मा छोइङ् पनिसँगै थिए।

    कार्यवाहक प्रमुख डंगोलको यो सक्रियतासँगै हिजोआज हरेक दिन विहान, दिउँसो र साँझको समयमा सडक सेवा अन्तर्गत सडकमा माग्न बसेका व्यक्तिहरुलाई उद्धार गरेर स्क्रीनिङ् सेन्टरमा लैजाने गरिएको छ।

    शनिवार बेलुका कालीमाटी र स्वयम्भूको कारखाना चोक क्षेत्रमा भेटिएका सहयोगापेक्षीहरुसँग कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले उनीहरुसँगै सडकमा पुग्नु पर्ने अवस्थाका विषयमा कुराकानी गरेकी थिइन्।

    कुराकानीपछि उनले भनिन्, ‘व्यक्ति सडकमा आउनु पर्ने बाध्यतासँग पारिवारिक, सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक कारण छन्, तर, सडकमा माग्न भेटिने गर्नुभएका सबै व्यक्ति सहयोगापेक्षी हुनुहुन्न, कतिपय व्यक्तिले माग्ने कामलाई पेशा बनाउनुभएको छ, अहिले हामी सहयोगको आवश्यकता हुने वास्तविक व्यक्ति र पेशेवर माग्ने व्यक्ति छुट्याउँदै छौं।’

    डंगोलले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अवस्थामा रहेका तथा हेरचाह र स्याहारका लागि आफन्त पनि नभएकाहरुलाई महानगरपालिकाले खोज्ने बताइन्।  उनले खानका लागि अन्नपात नभएका, अन्न किन्ने पैसा नभएका र विरामी पर्दा उपचार गर्ने पैसा नभएका त्यस्ता व्यक्तिहरुको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गर्ने जानकारी दिइन्।

    `जसले माग्ने कामलाई पेशा बनाउनु भएको छ, उहाँहरुको मागेर खाने कामलाई पूर्ण निषेध गरिनेछ।’  डंगोलले भनिन्।

    सहयोग नचाहिने तर माग्ने व्यक्तिहरुको व्यवस्थापनका विषयमा कुरा गर्दै उनले त्यस्ता ब्यक्तिलाई सिप सिकेर उद्यमी बन्न प्रोत्साहित गरिने र आवश्यकताका आधारमा महानगरपालिका आफैँले सिपमूलक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइन।

    उद्धारका क्रममा वडा नं. १५ स्वयम्भूको कारखाना चोकबाट १२ जनालाई उद्धार गरिएको छ। मानव सेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार २ जना महिला, ८ जना पुरुष र २ जना बालकलाई उद्धार गरिएको हो।

    यसरी उद्धार गरिएका व्यक्तिहरुमा मकवानपुर ठेगाना भएका ६५ वर्षकी काली तामाङ्, ओखलढुङ्गा सिञ्चोक गाउँपालिका घर भएकी २८ वर्षकी योगिता स्याङ्तान र ६० वर्षका कुर्मीमान स्याङतान, धादिङ गाउँपालिका घर भएका ४८ वर्षका कान्छा तामाङ छन्।

    यस्तै वुटवल देवनगर ठेगाना भएका २८ वर्षका इन्द्र कुवाँबोटिया, भारतको उत्तरखण्ड भेउनाका १७ वर्षका विकास चौधरी, सल्यान कपुरघाट गाउँपालिकाका २८ वर्षका दूर्गा वोहोरा, धादिङ्को मञ्जमजुवा गाउँपालिकाका ६२ वर्षका कुर्मी तामाङ्, हेटौँडा सातमोडेका ४६ वर्षका शिव क्षेत्री र धादिङ गजुरीका ५५ वर्षका रमाबहादुर गुरुङ छन्। बालकहरुमा शाही थरका १३ वर्षका र भुजेल थरका १५ वर्षका बालक छन्।

    उद्धारपछि उनीहरुलाई हिजै बेलुका स्क्रीनिङ सेन्टर तिलगंगा लगिएको थियो। उनीहरूमध्ये ३ जनाका परिवार सम्पर्कमा आएपछि परिवारसँग पुनर्मिलन गराइएको छ।

    महानगरपालिकाले २०७४ साल मंसिर १ गते मानव सेवा आश्रमसँग सम्झौता गरेर सडक सहयोगापेक्षी मानव व्यवस्थापनको काम थालेको थियो। त्यस यता २०८३ साल जेठ २१ गते सम्ममा २ हजार ४२१ जनालाई उद्धार गरिएको छ। जसमा १ हजार ५७१ जना पुरुष र ८५० जना महिला छन्।

    उमेरगत हिसाबले हेर्दा ५ वर्षसम्मका २ जना बालक र ८ जना बालिका गरी १० जना छन्। ६ बर्षदेखि १७ वर्षसम्मका ३९ जना बालक र २४ जना बालिका गरी ६३ जना बालबालिका छन्। १८ देखि ३९ वर्षसम्मका ३८७ जना पुरुष र २६६ महिला गरी ६५३ जना वयस्क छन् भने ४० वर्षदेखि ५९ वर्ष सम्मका ५८३ जना पुरुष र २७१ जना महिला गरी ८५४ जना छन्। ६० वर्ष माथिका ५६० जना पुरुष, २८१ जना महिला गरी ८४१ जना छन्। 

    उद्धारपछि ३८९ जना महिला र ४९४ जना पुरुष गरी ८८३ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ। १८७ जना महिला र ३४७ जना पुरुष गरी ५३४ जनालाई सामाजिक पुनःस्थापना गरिएको छ।

    उद्धारपछि आश्रममा रहेकै बेला १०१ जना महिला र २२२ जना पुरुषको निधन भएको छ। अहिले मानव सेवा आश्रममा २०७ जना पुरुष, १३७ जना महिला गरी ३४४ जना आश्रित छन्।

    मठ मन्दिर, देवल, पाटी, गुम्बा, चैत्य, चोक, गल्ली, पार्क सडक पेटी, आकाशे पुल जस्ता मानिसहरु भीड हुने तथा बाक्लो आवतजावत हुने स्थानमा विरामी भएको जस्तो गरेर बस्ने र माग्ने काम निषेध गर्ने उद्देश्यले त्यस्ता व्यक्तिहरुलाई उद्धार गरेर अवस्था पहिचान गर्न तिलगंगा क्षेत्रमा महानगरपालिकाले स्क्रीनिङ् सेन्टर सञ्चालन गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend