मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सूर्यविनायक-४ द्वारा चालु आवमा १ करोड ८९ लाख राजश्व संकलन, पाँच वर्षमा १५ करोड बराबरको विकास

सूर्यविनायक-४ द्वारा चालु आवमा १ करोड ८९ लाख राजश्व संकलन, पाँच वर्षमा १५ करोड बराबरको विकास

images
२०८३ जेठ २२ गते, शुक्रवार
२०८३ जेठ २२ गते, शुक्रवार
  • भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका-४ ले चालू आर्थिक वर्ष २०८२/०८३ को हालसम्ममा १ करोड ८९ लाख राजश्व संकलन गरेको छ।

    images

    राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा शुक्रबार वडा कार्यालय भवन, गाम्चामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा सो वडाले चालू आर्थिक वर्ष २०८२/०८३ को हालसम्ममा १ करोड ८९ लाख राजश्व संकलन गरेको जानकारी दिइएको हो।

    images

    सो क्रममा वडा अध्यक्ष लछुराम न्यौपानेले आफ्नो नेतृत्वमा विगत चार वर्षमा करिब १५ करोड रुपैयाँ बराबरको विकास निर्माणका काम सम्पन्न भएकोसमेत जानकारी दिए। संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहयोगमा कार्यकालको अन्तिम वर्षसम्म आइपुग्दा सो रकम बराबरको विकास निर्माणका काम भएको उनको भनाइ थियो।

    कार्यक्रममा स्थानीयले विकास निर्माण, खानेपानी, सडक, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा नगरस्तरीय योजनाका विषयमा जिज्ञासा, गुनासा र सुझाव बारे चासो र जिज्ञासा राखेका थिए।

    सो क्रममा वडा अध्यक्ष न्यौपानेले ‘जनताको करले विकासको गति बढेको’ प्रतिक्रिया दिए। न्यौपानेले स्थानीयवासीको कर र सहयोगकै कारण वडाले विकासको गति लिएको बताउँदै सडक पिच, ढलान, ब्लक बिछ्याउने, सडक फराकिलो बनाउने लगायतका काम तीव्र रूपमा अघि बढाइएको बताए ।

    ‘जनताको अपेक्षा र आफूले चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर काम गरिरहेको छु,’ उनले भने। उनका अनुसार चालु आर्थिक वर्षमा वडाको बजेट सिलिङ २ करोड ६० लाख रुपैयाँ रहेको छ। वडामा साना तथा ठूला दुवै प्रकारका योजना सञ्चालन भइरहेका छन्।

    सो क्रममा वडा अध्यक्ष न्यौपानेले हनुमान टोलदेखि खड्का गाउँसम्मका विकासका योजना बारे सुनाएका थिए।

    अध्यक्ष न्यौपानेले गाम्चास्थित भिजन ब्याङ्क्वेट क्षेत्र र हनुमान टोलमा ८० लाख रुपैयाँको लागतमा ढलान कार्य सम्पन्न भएको जानकारी दिए। त्यस्तै खड्का गाउँदेखि तामाङ गाउँ जाने सडकमा ५० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण गरिएको उनले बताए।

    यसैगरी अनन्तलिङ्गेश्वर परिसरमा ४५ लाख रुपैयाँको विकास निर्माण कार्य सम्पन्न भएको तथा शाही गणेश मन्दिर, चर्खण्डी र हिञ्चोक भैरव क्षेत्रको विकासमा पनि बजेट विनियोजन गरिएको उनको भनाइ थियो। चित्रपुर आधारभूत विद्यालयमा गत वर्ष ३६ लाख रुपैयाँको काम सम्पन्न भएको र हाल ५६ लाख रुपैयाँ बराबरको थप निर्माण कार्य भइरहेको उनले जानकारी दिए।

    नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याइने

    सार्वजनिक सुनुवाइका क्रममा नगर अस्पताल वडा बाहिर लगिएको विषय स्थानीयले उठाएका थिए। जवाफमा अध्यक्ष न्यौपानेले सूर्यविनायकको नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याउने तयारी भइरहेको सुनाए।

    ‘हालको नगर अस्पताल ट्रमा सेन्टरमा परिणत भएपछि नगर अस्पताल यही क्षेत्रमा पुनः सञ्चालन गरिनेछ,’ उनले स्पष्ट पारे।

    अनन्तलिङ्गेश्वरलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य

    वडाको दीर्घकालीन योजनाबारे जानकारी दिँदै अध्यक्ष न्यौपानेले खोकुण्डोल–सिरुटार सडक स्तरोन्नति, पातलेटार–फुटसल मार्ग निर्माण तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए।

    ढल प्रशोधन केन्द्रसँग जोड्ने उद्देश्यले तीन वटा डीपीआर तयार भइरहेको जानकारी दिँदै उनले अनन्तलिङ्गेश्वर क्षेत्रलाई कास्कीको प्रसिद्ध पुङ्दीकोट जस्तै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए। यसका लागि पिकनिक स्पट निर्माणका लागि समेत बजेट माग गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

    स्मार्ट सिटी योजना स्थगित गराउन पहल

    प्रश्नोत्तर सत्रमा स्थानीयवासीले २०७२ सालदेखि स्मार्ट सिटी योजनाको नाममा घर निर्माण तथा जग्गा किनबेचमा रोक लगाएर दुःख दिइएको गुनासो गरेका थिए। त्यसको जवाफमा अध्यक्ष न्यौपानेले स्मार्ट सिटीको अवधारणा तत्कालका लागि स्थगित गराउन आफूले विभिन्न तहमा पहल गरेको जानकारी दिए।

    १० वटा योजना कार्यान्वयनमा

    कार्यक्रममा वडा सचिव तोरण रानाले वडाले प्रदान गरिरहेको सेवाबारे जानकारी दिँदै हालसम्म ७६ वटा घटना दर्ता, १० वटा मृत्यु दर्ता तथा १ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन भएको तथ्यांक प्रस्तुत गरे। उनका अनुसार वडामा हाल १० वटा योजना कार्यान्वयनमा रहेका छन् भने ८ वटा योजना सम्झौताको प्रक्रियामा छन्।

    कार्यक्रममा नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर जनक न्यौपानेले सहभागीका प्रश्नको विस्तृत जवाफ दिएका थिए। उनले वडामा सञ्चालित योजनाहरूको प्रगति, नगरस्तरीय पूर्वाधार आयोजना तथा भावी योजनाबारे तथ्यसहित जानकारी गराएका थिए।

    कार्यक्रममा सहभागी १६ जनाले विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए। उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष लछुराम न्यौपाने, पूर्वाधार प्रमुख जनक न्यौपाने, दधिकोट बृहत् सहरी खानेपानी आयोजनाका अध्यक्ष कृष्णहरि खड्का तथा वडा सदस्य तारा सापकोटाले दिएका थिए।

    कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्य प्रकाश पारेका थिए। त्यसैगरी कार्यक्रमको सभापतित्व राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यले गरेका थिए भने सञ्चालन संस्थाका सचिव हेमराज खड्काले गरेका थिए।कार्यक्रममा ८१ जना स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend