मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुर्यविनायक-३ द्वारा चालू आर्थिक वर्षमा ८१ लाख ९८ हजार राजश्व संकलन, ३० योजना सञ्चालन

सुर्यविनायक-३ द्वारा चालू आर्थिक वर्षमा ८१ लाख ९८ हजार राजश्व संकलन, ३० योजना सञ्चालन

images
२०८३ जेठ २१ गते, बिहिवार
२०८३ जेठ २१ गते, बिहिवार
  • भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ३ ले चालू आर्थिक वर्षमा ८१ लाख ९८ हजार भन्दा बढी राजश्व संकलन गरेको छ।

    images

    राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी) को आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा बिहीबार सो वडामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाले चालू आर्थिक वर्ष भित्र विभिन्न शीर्षकबाट ८१ लाख ९८ हजार ७४३ रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक सार्वजनिक गरिएको हो। 

    images

    सुनुवाइका क्रममा विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विषयमा वडाले गरेका काम तथा प्रगतिबारे समीक्षा भएको थियो। सो क्रममा स्थानीय नागरिकहरुले वडाले गरेका कामकारबाही प्रति धन्यवाद दिंदै गुनासा, सुझाव र जिज्ञासा राखे।

    कार्यक्रममा चालु आर्थिक वर्षमा वडाले गरेका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक गतिविधि तथा आगामी प्राथमिकताबारेसमेत जानकारी गराइएको थियो।

    कार्यक्रममा वडासचिव शेषराज दाहालले चालु आर्थिक वर्षमा वडामा ३० वटा योजना सञ्चालन भएको र अधिकांश सम्पन्न भइसकेको तथ्यांक प्रस्तुत गरेका थिए।

    दाहालका अनुसार चालू आर्थिक वर्षमा सो वडामा ३२६ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

    सुनुवाईमा सहभागी स्थानीयवासीहरूले तुवाचो गणेश मन्दिरको पुनर्निर्माण, खानेपानी वितरणको असमानता हटाउने व्यवस्था, सडकबत्ती जडान, स्वास्थ्य शिविर सञ्चालन, किरियापुत्री भवन निर्माण, गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार, ढल व्यवस्थापन, सार्वजनिक कार्यक्रममा जनसहभागिता वृद्धि, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलामैत्री कार्यक्रम, सीसी क्यामेरा जडान तथा जीवन विज्ञान (योग) प्रयोगशालाका लागि भवन व्यवस्थापनलगायत विषय उठाएका थिए।

    प्रश्नहरूको जवाफ दिँदै बालकोट प्रहरी प्रभागका प्रमुख पदमबहादुर बलायरले अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनका लागि सार्वजनिक स्थानमा थप सीसी क्यामेरा जडान आवश्यक रहेको बताए। साथै, विग्रिएका क्यामेराको मर्मतसम्भारमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

    स्वास्थ्य चौकी बालकोटका प्रमुख सुशील घिमिरेले सीमित स्रोत–साधनका बाबजुद जेष्ठ नागरिक तथा दीर्घरोगी नागरिकलाई सेवा दिइरहेको जानकारी दिए। उनले सुगर र प्रेसरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको, नियमित स्वास्थ्य शिविर सञ्चालन भइरहेको तथा गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्डसहितको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताए। जेष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि थप बजेट र औषधिको आवश्यकता रहेको उनले औंल्याए।

    बालकोट खानेपानी उपभोक्ता समितिका सचिव हरिचन्द्र अधिकारीले केयूकेएल र नगरपालिकाबीचको सहकार्यपछि केही राहत मिलेको भए पनि मागअनुसार पानी वितरण गर्न अझै चुनौती रहेको बताए। पाइपलाइन विस्तारमा समस्या रहेको उल्लेख गर्दै उनले उपलब्ध पानीलाई समान रूपमा वितरण गरिरहेको स्पष्ट पारे।

    कार्यपालिका सदस्य हेमा दाहालले महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताइन्। 

    कार्यक्रमका क्रममा वडाध्यक्ष दीपेन्द्र केसीले विकासका लागि योजना मात्र नभई पर्याप्त बजेट आवश्यक रहेको धारणा राखे। उनले तुवाचो गणेश मन्दिर पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पूर्वाधार निर्माणको योजना रहेको जानकारी दिए।

    एक वर्षमा करिब २ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त हुने उल्लेख गर्दै उनले उपभोक्ता समितिमा देखिने विवाद न्यूनीकरण गर्न अधिकांश योजनालाई टेण्डर प्रक्रियामार्फत अघि बढाउने नीति लिइएको बताए।

    वडाध्यक्ष केसीले वडा नं. ३ र ४ को सिमानामा सार्वजनिक भवन निर्माणका लागि पहल भइरहेको, खानेपानी समस्या समाधानका लागि केयूकेएलसँग सहकार्य भइरहेको तथा आवश्यकता र समानुपातिक वितरणको आधारमा टोल–टोलमा बजेट विनियोजन गरिएको स्पष्ट पारे।

    ढल व्यवस्थापनमा स्थानीय साझेदारीको मोडेल अपनाउन आग्रह गर्दै उनले सडकमा थप सीसी क्यामेरा जडान गर्ने तथा जीवन विज्ञान प्रयोगशालाका लागि उपयुक्त जग्गा उपलब्ध भए भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, सीपमूलक तालिमका लागि बजेट अभाव नरहेको र माग आएअनुसार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

    कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यले सार्वजनिक सुनुवाइले जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउने बताउंत्दै सुशासन र पारदर्शिताका लागि पनि सुनुवाइ आवश्यक रहेको बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend