मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ओपीडी सेवाको स्तरोन्नति गर्न शिक्षण अस्पताललाई महानगरको १ करोड ७० लाख बराबरका उपकरण सहयोग

ओपीडी सेवाको स्तरोन्नति गर्न शिक्षण अस्पताललाई महानगरको १ करोड ७० लाख बराबरका उपकरण सहयोग

images
२०८३ जेठ २१ गते, बिहिवार
२०८३ जेठ २१ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० लाख रुपियाँ वराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ।

    images

    बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रममार्फत महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका  प्रमुख प्रा. डा. सुवास आचार्यलाई ती उपकरण हस्तान्तरण गरेका हुन्।

    images

    यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरुमार्फत शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट विरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्ट्र्याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन्।

    यस्तै चुस्त सेवाका लागि सर्भर र रयामको क्षमता वृद्धि गरिएको छ। यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरु सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपियाँमा प्राप्त भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

    ती उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरुमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने तथा पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्थाको अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताए।

    ‘विरामी र विरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ, उहाँहरुलाई उपचार गराउने क्रममा झन पीडा र सकस नहोस्, पैसा तिर्न र ओपीडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नु नपरोस्, यसलाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ, यसका लागि हामीले सहयोग गरेका हौँ।’ डंगोलले भने।

    महानगरले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुने उनको दाबी छ।

    ‘हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुनेछ, यसकारण अस्पतालसँगको सहकार्यलाई हामीले विशेष मानेका छौँ, हामीले आजको दिनलाई विशेष ठानेका छौँ।’ डंगोलले अगाडि भनिन्।

    उनले सहर सफा गर्ने दायित्व दिएर स्थापना गरिएको अड्डा अहिले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकास, सम्पदा तथा पर्यटनसहित नागरिकसँग जोडिएका सबै सेवा प्रदान गर्ने स्थानमा पुगेको बताउँदै अस्पतालसँगको सहकार्यमा टेलि सर्भिस सञ्चालन गर्न सकिनेसमेत बताइन्।

    `स्थानीय सरकारका हैसियतले महानगरपालिका हरेक नागरिकसँग जोडिएका सवालमा संवेदनशील छ, नागरिकका आवश्यकतालाई महसुस गरेर काम सम्पादन गर्छ।’ उनले भनिन्। 

    कार्यक्रममा अस्पतालका प्रमुख प्रा. डा. आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतिकरण गर्दै विरामीमैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रुपान्तरण गर्न सम्भव भएको उल्लेख गरे।

    ‘पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन सकिएको छ, दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ, यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ।’ डा. आचार्यले भने।

    कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले महानगरपालिकाबाट अस्पतालले नियमित सहयोग प्राप्त गरिरहेको बताउँदै यो सहयोगबाट अस्पतालको सेवा व्यवस्थापनमा सहज भएको धारणा राखे। 

    महानगरपालिकासँगै वडा कार्यालयले पश्चिम क्षेत्रबाट अस्पताल आउने मार्ग खुलाउन सहयोग गरेको वडाध्यक्ष प्रेम थापाले जानकारी दिए।

    महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिए।

    `अस्पतालको सेवा व्यवस्थापनमा महानगरपालिकाको हक लाग्ने गरी सहयोग प्रदान गरेका छौँ, यसबाट महानगरबासीलाई लाभ हुनेछ।’ के. सी. को भनाइ थियो।

    महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरु, सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend