मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१ अर्ब २९ करोड रुपैयाँ लागतको कागेश्वरी मनोहरा नगर अस्पतालको `मास्टर प्लान´, स्रोतका लागि बागमती सरकारकै भर

१ अर्ब २९ करोड रुपैयाँ लागतको कागेश्वरी मनोहरा नगर अस्पतालको `मास्टर प्लान´, स्रोतका लागि बागमती सरकारकै भर

images
२०८३ जेठ २० गते, बुधवार
२०८३ जेठ २० गते, बुधवार
  • काठमाडौँ। काठमाडौँको कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरी सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढेको छ।

    images

    सो अस्पतालको आवश्यक पूर्वाधार विकासका लागि गत वैशाख २० गतेको व्यवस्थापन तथा सञ्चालन समितिको निर्णयअनुसार हालको मूल्याङ्कनमा करिब १ अर्ब २९ करोड रुपैयाँ लागत अनुमानसहितको गुरुयोजना स्वीकृत भइसकेको छ।

    images

    उक्त गुरुयोजनालाई कार्यान्वयन गर्न आवश्यक आर्थिक स्रोत जुटाउने प्रक्रियामा नगरपालिका नेतृत्व र अस्पताल नेतृत्व संयुक्तरूपमा अघि बढेका छन्। त्यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोग मागेको छ। नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीसहितको टोलीले बुधबार सो गुरुयोजनाको लागत अनुमान मुख्यमन्त्री इन्द्र बहादुर बानियालाई बुझाउँदै प्रदेश सरकारको सहयोगका लागि आग्रह गरेका हुन्।

    मुख्यमन्त्री बानिया समक्ष अस्पतालको समग्र विकासका लागि आवश्यक स्रोत जुटाइदिन अनुरोध गर्दै लागत अनुमान (Cost Estimate) तथा डिजाइन समेत पेश गरिएको नगरप्रमुख कार्कीले जानकारी दिए।

    स्वीकृत गुरुयोजनाअनुसार विभिन्न स्रोतहरूको खोजी तथा व्यवस्थापन गर्दै योजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने र कागेश्वरी मनोहरा नगर अस्पताललाई आधुनिक तथा नेपालकै नमुना जनरल अस्पतालका रूपमा विकास गर्ने योजनासहित अघि बढिएको प्रमुख कार्कीले बताए।

    हाल अस्पतालमा ईमरजेन्सी,  ईन्टरनल मेडिसिन, बालरोग, मानसिक स्वास्थ्य परामर्श, कान, नाक, घाँटी, हाड तथा जोर्नी, दन्त सेवा, फिजियोथेरापी, अल्ट्रासाउन्ड, अत्याधुनिक ल्याब सेवा आँखा उपचार लगायतका सेवा उपलब्ध छन।

    विसं २०५१ सालमा उपस्वास्थ्य चौकीका रुपमा स्थापना भएको सो अस्पताल २०५३ सालमा मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा परिणत भएको थियो भने २०७६ सालमा सो अस्पताल १५ शय्याको आधारभूत अस्पतालका रुपमा स्तरोन्नति भएको थियो।

    अस्पतालले ११ शर्तसहित पाएको थियो १०० शय्या संचालनको अनुमति

    कागेश्वरी मनोहरा नगरपालिकाद्वारा संचालित कागेश्वरी मनोहरा नगर अस्पतालले विभिन्न ११ शर्तसहित १०० शय्या संचालनको अनुमति पाएको छ।

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट कागेश्वरी मनोहरा नगर अस्पताललाई विभिन्न ११ शर्तसहित १०० शय्या जनरल अस्पताल सञ्चालन प्रयोजनका लागि स्वीकृति दिइएको हो। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलले २०८२ चैत २६ गतेको सचिवस्तरीय निर्णयमार्फत परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गरेको थियो।

    बागमती प्रदेशको वातावरण संरक्षण ऐन २०७७ को दफा ४ उपदफा (४) बमोजिम वातावरण अध्ययन प्रतिवेदन जाँचबुझ गरी राय सुझाव प्रदान गर्न गठित समितिले गत चैत २५ गतेको बैठकको सिफारिस समेतका आधारमा सो निर्णय गरिएको जनाएको छ। अस्पताल संचालनका लागि विभिन्न ११ शर्तहरुसमेत तोकिएको छ।

    जसअनुसार अस्पताल सञ्चालनको क्रममा उत्पन्न हुने स्वास्थ्य सेवा जन्य फोहोरहरुलाई स्रोतमा वर्गीकरण गरी संक्रमणजन्य र हानिकारक फोहोरलाई संक्रमण-मुक्त/हानिरहित बनाएर मात्र फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउने, प्रतिवेदनमा उल्लेख भएका सकारात्मक वातावरणीय प्रभावलाई बढोत्तरी तथा नकारात्मक वातावरणीय प्रभाव न्यूनीकरणका लागि प्रस्तावित सम्पूर्ण क्रियाकलापहरु कार्यान्वयन गर्ने, वातावरणीय प्रभाव व्यवस्थापनका लागि प्रतिवेदनमा प्रस्ताव गरिएका सूचकका आधारमा नियमित अनुगमन गरी/गराई सो को प्रतिवेदन सम्बन्धित निकायमा नियमित रुपमा पेश गर्ने शर्त तोकिएको छ।

    यसैगरी वातावरण संरक्षणका सम्बन्धमा नेपाल सरकार र प्रदेश सरकारका कार्यालय तथा निकायहरुबाट जारी भएका विभिन्न निर्देशिका तथा परिपत्रहरु पालना गर्ने, Waste Water Treatment Facility राखी अस्पतालबाट निष्कासित हुने तरल फोहोरलाई उपचार गरी मात्र Drainage मा पठाउने व्यवस्था गर्ने, भूमिगत पानी प्रयोग गर्न सम्बन्धित निकायको अनुमति प्राप्त गर्नु पर्ने, Rain Water Harvesting System, Water Recharge Pit को व्यवस्था गर्नु पर्ने शर्तमा उल्लेख छ।

    यस्तै स्वास्थ्य क्षेत्र सम्बन्धी विद्यमान विभिन्न निर्देशिका, मापदण्डहरुको पालना गरी आयोजना सञ्चालन गर्नु पर्ने, भवन निर्माण सम्बन्धी आचार संहिताको पालना गरी भवन निर्माण कार्य गर्ने, आयोजना सञ्चालनको क्रममा Disaster Risk Reduction Plan बनाई लागू गर्ने तथा प्रचलित ऐनहरुले गर्नुपर्ने भनी उल्लेख भएका सम्पूर्ण क्रियाकलापहरु नियमानुसार गर्ने शर्तमा उल्लेख छ।

    कागेश्वरी मनोहरा नगर अस्पतालमा अहिले दैनिक १ हजार जनासम्मलाई सेवा उपलब्ध गराउँदै आइएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए। हाल यो अस्पताल १५ शैयाका अतिरिक्त थप शैया व्यवस्थापन मार्फत संचालन हुँदै आइरहेको छ।

    नागरिकहरूको बढ्दो विश्वाससँगै कागेश्वरी मनोहरा नगर अस्पतालमा भर्ना हुने बिरामीको चाप दिनप्रतिदिन वृद्धि हुँदै गएको छ। सोही अनुसार स्वीकृत १५ शैयाका अतिरिक्त थप शैया व्यवस्थापन मार्फत आकस्मिक, जनरल मेल तथा फिमेल आइसोलेशन, एचडीयु र प्रसुती वार्डसमेत गरेर करिब ४० शैयाबाट निरन्तर स्वास्थ्य सेवा प्रवाह भइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend