मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन

काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन

images
२०८३ जेठ ११ गते, सोमवार
२०८३ जेठ ११ गते, सोमवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन्।

    images

    काठमाडौँ महानगरपालिकाका अनुसार आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन्।

    images

    आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ। मंगलबार दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नु पर्नेछ।

    प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरुलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ। अभिभावक र विद्यार्थीहरुले कक्षबाट सहायता प्राप्त गर्न सक्ने छन्।

    अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ। सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको खड्काले जानकारी दिए।

    खड्काका अनुसार विद्यार्थीहरुको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ। तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ। जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ।

    आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते विहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्ने तथा परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिने उनी बताउँछन्।

    आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भरेका छन्। यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ। व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना छन्।

    कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ। कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा सिफारिस गर्छ।

    परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ। यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ। नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११÷१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend