भक्तपुर। स्थानीय तहको संस्थागत क्षमता विकास अवस्था विश्लेषण तथा क्षेत्र पहिचान प्रतिवेदन’मा भक्तपुरको सूर्यविनायक नगरपालिका उत्कृष्ट २० भित्र परेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को सो प्रतिवेदन’मा भक्तपुरको सूर्यविनायक नगरपालिका २० मध्ये १९ औं नम्वरमा पर्न सफल भएको हो।
यसअघि मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन’ र ‘वित्तीय सुशासन जोखिम मूल्याङ्कन’ छुट्टाछुट्टै गर्दै आएको थियो। मन्त्रालयले पहिलोपटक दुवै प्रणालीलाई समायोजन गरी एकीकृत कार्यसम्पादन मूल्याङ्कन प्रणालीमार्फत २० स्थानीय तह छनौट गरेको हो।
प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिकाले कुल ८८ अंक प्राप्त गरेको छ। यस्तै धादिङको नीलकण्ठ नगरपालिकाले ९४.४० अंकसहित देशकै प्रथम बनेको छ।
यसैगरी चितवनको खैरहनी नगरपालिका ९२.७५ अंकसहित दोस्रो तथा धादिङकै बेनिघाट रोराङ गाउँपालिका ९१.७५ अंकसहित तेस्रो स्थानमा परेका छन्।
काठमाडौं उपत्यकाका स्थानीय तहमध्ये ललितपुर महानगरपालिकाले करिब ८८.२५ अंक प्राप्त गर्दै १५औँ नम्बरमा पर्दा सूर्यविनायक नगरपालिका ८८ अंकसहित उपत्यकामा दोस्रो स्थानमा पर्न सफल भएको हो। यस सूचीमा उपत्यकाबाट यी दुई स्थानीय तह मात्रै शीर्ष २० भित्र पर्न सफल भएका छन्।
मन्त्रालयले कार्यसम्पादनका आधारमा स्थानीय तहलाई आगामी दिनमा अनुदान, प्रोत्साहन तथा सहयोग प्रणालीसँग जोड्नुपर्ने सुझावसमेत प्रतिवेदनमार्फत दिएको छ।




