मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चागुनारायण-१ को सडक पुर्वाधारमा जनता खुसी, स्वास्थ्य र शिक्षा सुधारको खाँचो

चागुनारायण-१ को सडक पुर्वाधारमा जनता खुसी, स्वास्थ्य र शिक्षा सुधारको खाँचो

images
२०८३ जेठ ७ गते, बिहिवार
२०८३ जेठ ७ गते, बिहिवार
  • भक्तपुर। भक्तपुरको चागुनारायण नगरपालिका वडा नम्बर १ मा स्थानीय तह निर्वाचनपछि सडक पुर्वाधारमा भएको विकासबाट स्थानीय जनता खुसी देखिएका छन्।

    images

    नगरपालिकाको वडा नम्बर १ ले ८ वटा नाकालाई सडक पुर्वाधारबाट जोड्ने र ती सबै नाका सडक पुर्वाधारमा अब्बल बनिसकेको अवस्था रहेको पाइएको हो। सो वडाको वडा कार्यालयमा बिहीबार राष्ट्रिय संचार केन्द्रको आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ तथा प्रगति समिक्षा कार्यक्रममा सडक पुर्वाधारको स्थितिमा जनता सन्तुष्ट देखिएका हुन्।

    images

    वडाका स्थानीय तथा सामाजिक अभियनता माधव प्रसाद न्यौपानेले वडामा वर्तमान नेतृत्व आएपछि सडक पुर्वाधारको विकासमा ९० प्रतिशत भन्दा बढी काम भएको र जनता सन्तुष्ट भएको बताए। उनले बाँकी १० प्रतिशत सडकको काम सम्पन्न हुने आशा आफुहरुको रहेको सुनाए।

    `सडक पुर्वाधारमा जनताका सपनालाई पूरा गर्ने उद्देश्यले झण्डै ९० प्रतिशत काम भएको पाएका छौं, पहिरोले केही स्थानमा जोखिम निम्त्याएको छ, महाँकाल चोक हुँदै न्यौपाने गाउँ जाने सडकमा पनि वजेट छुट्याइएको सुनेका छौं, छिट्टै बनोस्।´ न्यौपानेले जनताका आशा सुनाउँदै भने।

    उनले शिक्षा, स्वास्थ्य पुर्वाधार र जनशक्तिका क्षेत्रमा काम हुन नसकेको अवस्थालाई नेतृत्वले प्राथमिकता दिनु पर्ने बताए। यस्तै खानेपानीको पाइप बिच्छाउँदा पनि वडाले विकासको कामलाई वाधा नपुग्ने गरेर गराउने गरि अनुगमन गर्नु पर्नेमा जोड दिए।

    अर्का स्थानीय राजकुमार खड्काले भौतिक पुर्वाधारमा वडाले उल्लेख्य प्रगति गरेपनि कुलो, ढल र नाली ब्यवस्थापन पनि सँगै अघि बढाउनु पर्ने औंल्याए।

    `सडक बन्यो, पेटी बनेन।, कुलो ढल पनि सँगैसँगै बन्दा सडकको दिगोपना सुनिश्चित हुने थियो।´ उनले सुझाउँदै भने।

    अर्का स्थानीय ऐश्वर्यजीत खड्काले सडकको विकासले वडाका नागरिकको समय वचत गराएको बताए।

    `वडाको एक ठाउँबाट अर्को ठाउँ जता गए पनि तत्कालै पुगिन्छ, अब सार्वजनिक यातायात संचालनका लागि पहल होस्, सडक बन्यो, अब गाडी गुडोस।´ खड्काले भने

    सो वडाका ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष भरत प्रसाद न्यौपानेले वडा नेतृत्वले ज्येष्ठ नागरिकका समस्या सम्बोधनमा पनि साथ दिंदै आएको र बेलाबखत धार्मिक भ्रमण हुने गरेको बताए। उनले ज्येष्ठ नागरिकका लागि अब भौतिक सामग्रीको आवश्यकता रहेको भन्दै ठाउँठाउँमा ब्यवस्थित चौतारी र कार्यालयमा टेलिभिजन, तबला र हार्मोनियम उपलब्ध गराइदिन आग्रह गरे।

    सोही वडा अन्तर्गत पर्ने सरस्वतीखेलका अर्का स्थानीय रितेश खड्काले स्थानीय नागरिकलाई अब आत्मनिर्भर बनाउने किसिमका कार्यक्रम तर्फ वडा नेतृत्वले पहलकदमी लिनु पर्ने सुनाए।

    `धेरै कार्यक्रम चलाइयो, अब आत्मनिर्भर कसरी बन्ने भन्ने तालिम चलाउनु पर्ने छ, तालिम मात्र होइन अब उपकरण पनि दिएर ब्यवहारिक रुपमा काम गर्ने वातावरण बनाउनु पर्ने छ, स्थानीय सरकारले ध्यान देओस, कार्यक्रमको उपयोगिता पनि देखियोस।।´ उनले भने।

    स्थानीय सोनु खड्काले महिला सशक्तीकरणका लागि अब स्थानीय सरकारले थप काम गर्नु पर्ने औंल्याइन।

    `महिला लक्षित कार्यक्रम भएका छन्, तर अब नयाँ पन चाहियो, प्राविधिक दक्षता बढाउँने कार्यक्रम भए राम्रो हुने थियो।´ उनले सुझाव दिंदै भनिन्।

    सो वडाका पुर्व वडा अध्यक्ष राजेश खड्काले विकासका विषय दलगत भन्दा माथी हुनु पर्ने बताए। उनले सुधार हुनै  पर्ने विषयलाई दलगत आँखा बाट नहेरी अघि बढाइनु पर्नेमा जोड दिए।

    `विकासका विषयमा दलगत भावना भन्दा माथी उठौं, सुधार गर्नु पर्ने विषय उठाउँदा जनपक्षमा काम हुन सक्छ, कानुनी पाटोलाई समेत मिलाउँदै काम गर्नु पर्ने थलो वडाको सरकार हो।´ उनले आफ्नो विगतको अनुभव सुनाउँदै भने।

    कार्यक्रममा स्थानीय मदन थापा, रामप्रसाद निरौला तथा सुरक्षा प्रमुख गंगा प्रसाद दंगालले आफ्नो धारणा राखेपछि वडा अध्यक्ष सिजन कार्कीले आफू नेतृत्वमा आउँदा र वर्तमान अवस्थाको तुलना गरे।

    `म पनि यही वडाकै नागरिक हुँ, तपाइलाई जस्तै गाउँको विकास होस, राम्रो बाटो बनोस् भन्ने लाग्थ्यो, म सम्झन्छु, हिजोको अवस्था कस्तो थियो, आज कस्तो छ, सडकमा विकास भयो, अब शिक्षा र स्वस्थ्यमा सुधार गर्नु पर्ने छ।´ वडा अध्यक्ष कार्कीले भने।

    उनले आफू नेतृत्वमा आएपछि शिक्षा, स्वास्थ्य, महिला बालबालिका, सडक पुर्वाधार  लगायतका क्षेत्रमा काम गरिरहेको भए पनि सडक बाहेक अन्य क्षेत्रमा अझै काम गर्नु पर्ने अवस्था कायम रहेको बताए।

    अध्यक्ष कार्कीले सडक पुर्वाधारमा नै केही स्थानमा पहिरोले असर पुर्याइरहेको भन्दै त्यसलाई समेत सम्बोधन गर्ने आफ्नो प्रयास जारी रहेको बताए।

    उनले शिक्षाका क्षेत्रमा नमुना विद्यालयका रुपमा रहेको चागुनारायण नमुना माविलाई भौतिक पुर्वाधारमा सम्पन्न बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए। सो विद्यालयमा १५ दिन भित्र ब्यवस्थापन समिति बनाउने समेत उनले प्रतिबद्धता व्यक्त गरे।

    यसैगरी वडाका नागरिकको भौतिक सामग्रीको सुरक्षाका सवालमा सडकका सबै नाकामा उच्चस्तरीय सिसिक्यामेरा जडान गरिएको उनको भनाइ थियो। आफू नेतृत्वमा आएपछि वडा भित्र ३८ वटा सिसिक्यामेरा जडान गरेको उनको भनाइ थियो।

    वडा अध्यक्ष कार्कीले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्नका लागि अब छिट्टै सार्वजनिक सुनुवाइ गरेर स्वास्थ्य प्रवर्द्धन केन्द्र र स्वास्थ्य चौकी राख्ने स्थानको टुंगो लगाइने प्रतिबद्धता जनाए। हाल भौतिक संरचनाको अभावमा सो वडाको स्वास्थ्य चौकी किरियापुत्री भवनको दुई कोठाबाट संचालन हुँदै आइरहेको छ।

    कार्यक्रममा राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्यले सार्वजनिक सुनुवाइको संस्कारले जनताप्रति जनप्रतिनिधिलाई जवाफदेही बनाउन बल पुग्ने र पारदर्शिताको अभ्यास हुने बताए। कार्यक्रममा कार्यक्रमका संयोजक पुष्कर बुढाथोकी र केन्द्रका सल्लाहकार दिवस गुरागाईँले जनताप्रतिको वाचा सम्झाउन सार्वजनिक सुरुवाईले सहयोग पुग्ने औंल्याए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend