लुभु। ललितपुरमा एक घरको कोठाबाट नक्कली रक्सी बनाएर प्याकिङ गर्दै बजारमा पठाइने गरेको रहस्य खुलेको छ।
मंगलबार साँझ ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाएर राखेको ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको हो।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले सो स्थानबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवल लगायत महंगा ब्राण्डेड रक्सी समेत बरामद गरेको छ। ती रक्सीका बोतल हुबहु सक्कली रक्सीसँग मिल्दो छन् भने हुबहु मिल्दो ट्याग लगाइएको छ।
सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोले विशेष सूचनाको आधारमा चाँगाथलीस्थित विर्ख बहादुर तामाङको घरको कोठाबाट चार जनालाईसमेत नियन्त्रणमा लिएको छ।
`अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई नियन्त्रणमा लिएका छौं, रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद भएको छ, बराद रक्सी ठूलो परिमाणमा छ।´ ईन्टेलिजेन्स व्यूरोका एक अधिकारीले जानकारी दिंदै भने।
नियन्त्रणमा लिईएकाहरुमा रामेछाप जिल्ला खाँडादेवि गाउँपालिका–२ बस्ने ३० वर्षीया मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीया विनोद तामाङ, २६ वर्षीया विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षिय छिदेन निमा तामाङ छन्।
नियन्त्रणमा लिइएका ब्यक्तिहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए।




