भक्तपुर। भक्तपुरको दधिकोटमा सुविधा सम्पन्न नगर अस्पताल बन्ने भएको छ। नयाँ बन्ने अस्पताल भवन अण्डरग्राउण्ड पार्किङसहितको पाँच तले आधुनिक तथा सुविधा सम्पन्न हुनेछ।
सूर्यविनायक नगरपालिका-४ दधिकोटको गाम्चास्थित प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवन रहेको स्थानमा नयाँ सुविधा सम्पन्न नगर अस्पताल बन्ने भएको हो। नयाँ अस्पताल बनेपछि हाल जगातीबाट संचालन हुँदै आएको सुर्यविनायक अस्पताल दधिकोटबाट संचालन हुनेछ।
नयाँ नगर अस्पताल बन्ने स्थानमा हाल रहेका पुराना भवन भत्काउने काम भइरहेको छ। नगर अस्पताल जगाती भन्दा अघि सो प्राथमिक स्वास्थ्यलाई रुपान्तरण गरेर संचालन हुँदै आएको थियो। कोरोना महामारीका समयमा २०७८ फागुनदेखि अस्पताललाई जगातीमा स्थानान्तरण गरिएको थियो।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले सूर्यविनायक नगर अस्पताललाई ५० शय्यामा विस्तार गरी अस्पतालकै रूपमा सञ्चालन गर्न अनुमति दिएपछि नयाँ संरचना सहित पुरानै ठाउँबाट संचालन हुने भएको हो।
यसअघि नै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नगर अस्पताललाई पुनः दधिकोटबाटै सञ्चालनमा ल्याउने घोषणा गर्दै १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन समेत गरेका थिए। हाल ५ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको हो।
नयाँ बन्ने अस्पतालमार्फत पूर्वाधारलाई थप व्यवस्थित र आधुनिक बनाउँदै नागरिकलाई २४सै घण्टा इमर्जेन्सी, प्रसूति सेवा तथा अन्य अत्यावश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराइने मन्त्री थापाले बताए।



