काठमाडौँ। काठमाडौँको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्तरूपमा वैशाख २३ गते मंगलवारबाट वडा नं. ८ तिलगंगामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका हुन्।
होल्डिङ सेन्टरमा पहिलो २८ जनालाई राखिएको छ। पहिलो दिन मंगलबार विहान ३६ जनालाई उद्धार गरिएकोमा ६ जना सेन्टरमा पुगेपछि पर्खाल नाघेर भागेको महानगरपालिकाले जनाएको छ।
सेन्टरमा सहयोगापेक्षीहरुलाई ल्याइएपछि मंगलबार नै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले त्यही पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी थिइन्।
‘हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ, सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ, यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ, मिलेर काम गरौँ।’ सहयोगापेक्षीसँग कुराकानी गरिसकेपछि उनले प्रतिक्रिया दिंदै भनिन्।
सो क्रममा उनले उद्धार गरिएकाहरुसँग पनि कुराकानी गरिन।
‘पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो, असहाय र वेवारिसेलाई मात्र आश्रममा राख्ने हो।’ सो क्रममा उनले भनिन्।
उनले उद्धार गरिएकाहरुसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन्।
त्यसक्रममा खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले विरामीलाई उपचारको व्यवस्था मिलाउनसमेत निर्देशन दिइन्।
सो क्रममा कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले, सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताए।
उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या रहेको पाइएको छ। यस्तै १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ।
उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिए।
उद्धार गरिएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष छन्। उमेरका हिसाबले सबैभन्दा बढी उमेरका व्यक्ति ७८ वर्षका छन् भने सबैभन्दा कम २५ वर्षका छन्।
यसरी ल्याइएकाहरु सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ., बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति भएको बताइएको छ।



