काठमाडौँ। काठमाडौका सुकुम्बासी वस्तिखाली गरेपछि राधास्वामी सत्संग व्यास आश्रममा राखिएका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन्।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि उनीहरूलाई विद्यालय पठाउन लागिएको हो। ती ५२ जना बालबालिका आजबाट वडा नं. १४ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा जानेछन्। यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ।
नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्संग आश्रममा छन्। उनीहरुमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक सो आश्रममा छन्।
यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका रहेको महानगरपालिकाले जनाएको छ। यस्तै त्यहा रहेका ४ जनाले भने यस वर्ष एसईई दिएका छन्। उनीहरूले कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न चाहना राखेका छन्।
काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी नमराज ढकालले महानगरपालिकाले उनीहरुले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको बताए।
विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखेका छन्। अभिभावकको चाहना बुझ्न भराइएको फाराममा ५ जना छात्रा र ६ जना छात्रले छात्राबासमा बस्न अनिच्छा व्यक्त गरेका थिए। अन्य अभिभावकबाट स्पष्ट धारणा प्राप्त हुन नसकेको बताइएको छ।
शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशिल सुवेदीका अनुसार छात्राबास बस्न इच्छुकहरुमा ११ जना छात्रा र १९ जना छात्र छन्। सुवेदीका अनुसार विद्यार्थीहरुलाई आवश्यक पर्ने पोशाक तथा शैक्षिक सामग्री सम्बन्धी आवश्कयता समेत माग गरिएको छ।
महानगरपालिकाका निर्देशक वसन्त आचार्यका अनुसार
छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरिएको छ। १० वर्ष उमेर भएका बालबालिकालाई मात्र छात्राबासमा राख्न उपयुक्त हुने सुझाव प्राप्त भएपछि त्यही अनुरुप व्यवस्थापनको प्रयास गरिरहेको उनको भनाइ छ। निजी तथा संस्थागत विद्यालयहरुबाट खवर प्राप्त भएपछि इच्छुक र योग्य बालबालिकालाई छात्राबास पठाउने उनले जानकारी दिए।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार प्याब्सन र एनप्याब्सनका पदाधिकारीसँग बसेर होल्डिङ् सेन्टरमा रहेका बालबालिकाका लागि संस्थागत विद्यालयमा आवास सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन आग्रह गरेका थि।
उनको आग्रहपछि वैठक बसेर हाइयर इन्स्टिच्युसन्स एण्ड सेकेण्डरी स्कूल्स एशोसिएसन (हिसान), प्राइभेट एण्ड वोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) र एशोसिएसन अफ प्रिस्कूल एजुकेटर्स नेपाल (एपेन) ले संयुक्त विज्ञप्ति जारी गर्दै वास्तविक सुकुम्बासीका बालबालिकाको शिक्षालाई निरन्तरता दिन, सहयोग र सहजीकरणका लागि तत्पर रहेको बताएका थिए।



