काठमाडौँ। सरकारले काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती खाली गराउने कार्य आज शनिबार पनि जारी राखेको छ।
सरकारले आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउँदै छ। काठमाडौँ महानगरपालिकाको संयोजनमा आज यी स्थानमा सार्वजनिक जग्गा खाली गर्ने कार्य हुनेछ।
अहिके कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।
“स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी छ”, उनले जानकारी दिंदै भने।
सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो। हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ। शहरी विकास मन्त्रालयका आधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भूमिहिन परिवारको लगत सङ्कलन गरिरहेको छ।



