पोखरा। कास्कीमा प्रहरीले शुरु गरेको `स्विप अपरेसन´ले दोश्रो दिन पनि निरन्तरता पाएको छ। बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म थप ६१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले बुधबार बेलुका ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म संचालन गरेको `स्विप अपरेसन´ बिहिबार पनि जारी राखेको हो। बिहीबार बेलुका ९ बजेबाट शुक्रबार बिहान ६ बजेसम्म पनि संचालन गरिएको थियो। कास्कीका विभिन्न स्थानबाट पहिलो दिन १ सय २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले दोश्रो दिन आज थप ६१ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
लागू औषधको सेवन तथा बिक्री वितरण गर्ने, समाजमा अशान्ति फैलाउन गुण्डागर्दी गर्ने लगायतका गतिविधि नियन्त्रणका लागि प्रहरीले ‘स्वीप अप्रेसन’ चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एबम प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिए।
गएराती गरिएको अपरेसनको क्रममा पोखरा महानगरपालिका वडा नम्बर २ र ४ अन्तर्गतको मोहरियाटोल र गैह्रापाटन क्षेत्रबाट १४ जना, वडा नम्बर ६ को लेकसाइड र ड्यामसाइड क्षेत्रबाट २४ जना, वडा नम्बर ८ र ९ मा पर्ने बगालेटोल, सभागृह चोक, शिवालय चोक र पृथ्वीचोक क्षेत्रबाट ८ जनालाई पक्राउ गरिएको थियो।
यसैगरी पोखराको वडा नम्बर १३ र १५ को काँहुडाँडा, काँहुखोला र रामबजार क्षेत्रबाट २ जना, वडा नम्बर १८ र २० को सराङकोट, लामागाउँ र भलाम क्षेत्रबाट ४ जना, वडा नम्बर २६, २७, २९ र ३० अन्तर्गतका सुन्दरबजार, रिठेपानी, सैनिक बस्ती, खुदीखोला र साहुको खोर क्षेत्रबाट ९ जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ।
समाजमा अशान्ति फैलाउने, टोले गुण्डाका रूपमा धम्की दिने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र रातको समयमा शंकास्पद रूपमा हिँडडुल गर्नेहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको पाण्डेले बताए।
यस अघि पक्राउ परेका १ सय २२ जनामध्ये ८ जनालाई लागू औषधसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा २७ जनामाथि म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यस्तै १५ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जरिवाना गरी छाडिएको र बाँकी ७० जनालाई सम्झाई–बुझाई गरी आफन्तको जिम्मा लगाएर छाडिएको छ। अन्य २ जनालाई भने हाल होल्डमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यो अभियानलाई निरन्तरता दिईने छ।



