मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सर्लाहीमा अवैध रुपमा चलाइएका ११ स्वास्थ्य संस्था शिल, संचालकको भागाभाग

सर्लाहीमा अवैध रुपमा चलाइएका ११ स्वास्थ्य संस्था शिल, संचालकको भागाभाग

images
२०८३ बैशाख ११ गते, शुक्रवार
२०८३ बैशाख ११ गते, शुक्रवार
  • सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रुपमा चलाइएका ११ वटा स्वास्थ्य संस्थामा स्थानीय प्रशासनले शिल गरेको छ।

    images

    सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बिहीबार१६ वटा स्वास्थ्य संस्थाहरूको अनुगमनका क्रममा दर्ता नै नगरी चलाइएका तथा अवैध रुपमा संचालन गरिएका ११  स्वास्थ्य संस्था शिल गरिएको जानकारी दिए। ती स्वास्थ्य संस्थामा ताला लगाइएको छ।

    images

    शिल गरिएका स्वास्थ्य संस्थाहरूमा अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायत छन्।

    जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको गुनासो आएपछि बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको संयुक्त टोलीले अनुगमन गरेको थियो।

    यी हुन् शिल गरिएका स्वास्थ्य संस्था

    अनुगमनका क्रममा सर्लाही पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धिगणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक/निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र नाम बिनानै संचालित एक अल्ट्रासाउन्ड क्लिनिक बन्द गराइएको हो।

    सञ्चालक नै फरार

    शिल गरिएकामध्ये चार वटा स्वास्थ्य संस्था दर्ता बिनानै चलाइएको पाइएको छ। अन्य सात वटा स्वास्थ्य संस्था अनुगमन टोली आएको सुचनापछि बन्द गरेर सञ्चालक फरार भएका थिए। ती स्वास्थ्य संस्थामा पनि कैफियत हुनसक्ने भन्दै सञ्चालक भागेपछि बन्द अवस्थामा रहेका कारण अनुगमन टोलीले शिल गरेको हो।

    बिहीबार मलङ्गवाका १६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। त्यसमध्ये दर्ता भएर सञ्चालनमा रहेका पाँच वटा स्वास्थ्य संस्थालाई नवीकरण वा अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था देखिएकाले एक साताभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ।

    यसअघि २०८१ साल फागुन अन्तिम साता मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले अनुगमन गर्दा मलङ्गवाका अधिकांश पोलिक्लिनिक तथा अस्पताल अवैध रहेको पाइएपछि बन्द गराइएको थियो।

    त्यसबेला मलङ्गवामा १९ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा दर्ता नभएका तथा मापदण्ड पूरा नगरेका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिइएको थियो।

    अवैध रूपमा सञ्चालनमा रहेका क्लिनिक तथा अस्पतालहरूले बिरामीलाई मनपरी उपचार गर्ने, चर्को शुल्क असुल्ने, दक्ष स्वास्थ्यकर्मी नराख्ने र बिरामीको स्वास्थ्यमा खेलवाड गर्ने गरेको गुनासो सुनिने गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend