काठमाडौँ। सरकारले काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चलाउन माइकिङ गरिरहेको छ। आगामी शनिबार थापाथलीको युएनपार्क नजिक रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको तयारी छ। काठमाडौँ महानगरले सो स्थानमा घर खाली गर्न माइकिङ नै गरिरहेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार वैशाख १२ गते शनिबार बिहानदेखि काठमाडौँका तीन स्थानको सुकुमबासी बस्तीमा डोजर लगाएर टहरा भत्काइँदै छ। सो बारे आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा समितिको बैठकमा जानकारी गराएका थिए।
सुरक्षा समितिको बैठकपछि उनले काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँग पनि छलफल गर्दै तीन स्थानका सुकुम्बासी बस्ती खाली गराउने निर्णय भएको जानकारी गराएका थिए।
जसअनुसार पहिलो चरणमा थापाथली, गैह्रिगाउँ र जडीबुटी स्थित मनहरा खोला किनारको बस्ती खाली गराउने निर्णय गरिएको बैठकमा उल्लेख गरिएको थियो।
ती स्थानमा शनिबार बिहान ६ बजेबाट डोजर चलाइने छ।
काठमाडौँ महानगर, प्रहरी र सशस्त्रका सुरक्षा अधिकारीहरूले उपत्यकाको तिनै स्थानमा अवैध तरिकाले बनाइएका घर र टहरा खाली गर्न माइकिङ सुरु गरिसकेका छन्। माइकिङमा वैशाख ११ गते साँझ ७ बजेभित्र घर, टहराहरू खाली गर्न भनिएको छ।
यसैगरी घर, टहरामा भएका सामान र चौपाया तत्काल सार्न र अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरा र वृद्ध वृद्धालाई प्राथमिकता दिएर सार्न स्थानीय प्रशासनले माइकिङमार्फत आग्रह गरेको छ।



