बुटवल। असुरक्षित गर्भपतन गराउँदा महिलाको मृत्युु भएको घटनामा प्रहरीले बुटवलबाट दुई जना चिकित्सकलाई पक्राउ गरेको छ।
गर्भपतन गराउने क्रममा पाल्पाकी करिब १२ हप्ताकी गर्भवती गीता पाण्डे गत वैशाख ५ गते बुटवलको इँटाभट्टास्थित खत्री नर्सिङ होम पुगेकी थिइन्। खत्री नर्सिंङ होमले उनलाई उपचारका क्रममा एकपछि अर्को मेडिकलमा रेफर गर्दै पठाउँदा उनको मृत्यु भएको थियो।
श्रीमान् सहित मेडिकल पुगेकी पाण्डेलाई खत्री मेडिकलले रिफर गर्दै जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकसम्म पठाएको खुलेको छ। सो क्रममा उनको मृत्यु भएको दाबी मृतकको आफन्तको छ। सो घटनाबारे रुपन्देही प्रहरीले अनुसन्धान गरिरहेको छ।
मृतकका आफन्तले दिएको उजुरीका आधारमा थप दुई चिकित्सकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य संस्था प्रालि. का सञ्चालक डा. सतिस रूपाखेती छन्।
यसअघि प्रहरीले इन्दुलेखा स्वास्थ्य संस्थाका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई पक्राउ गरिसकेको छ।
श्रीमतीको मृत्युुपछि श्रीमान् प्रकाश पाण्डेले
गर्भपतन जस्तो संवेदनशील विषयमा सावधानी नअपनाइ एकपछि अर्को क्लिनिकमा रिफर गर्दै उपचारमा लापरबाही गर्दा आफ्नी श्रीमतीको मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए।
घटनापछि मृतकका आफन्तले खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दीसमेत गरेका छन्। दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्वपश्चिम राजमार्ग अन्तर्गत चौराहा क्षेत्रमा सडक अवरुद्ध समेत गरेका थिए।
यसअघि मृतकका श्रीमानको किटानी जाहेरी दिएकै आधारमा प्रहरीले सन्ध्या बस्नेत, निलम घर्ती मगर र खगेन्द्र पाण्डेलाई सोमबार पक्राउ गरेको थियो। पाँच जना विरुद्ध उजुरी दिए पनि डा. डिबी खत्री र डा. सतिस रुपाखेती भने पक्राउ परेका थिएनन्। प्रहरीले उनीहरूलाई समेत पक्राउ गरि अनुसन्धान अघि बढाएको हो।
घटनाको सत्यतथ्य छानबिन गर्दै दोषीलाई कारबाही गर्नु पर्ने माग मृतकका आफन्तले गरिरहेका छन्। हाल मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।



