भक्तपुर। भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा आयोजना भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ २०७२-२०८३ सम्पन्न भएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी तीनकुने चौरमा गत चैत २६ गतेदेखि महोत्सव आयोजना गरिएको थियो। आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवलाई १ लाख ३० हजार बढी दर्शक तथा उपभोक्ताले अवलोकन गरेको र करिब ८० लाखको कारोबार भएको जानकारी दिए।
महोत्सवमा १८० वटा स्टल (कक्ष) राखिएको थियो भने यसपटक मुख्य आकर्षण लण्डन ब्रीज समेत राखिएको थियो। महोत्सवमा उपभोक्ताहरुले एकै छानामुनि दैनिक उपभोग्य सामग्रीदेखि सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जनको मजा लिएका थिए। यस्तै महोत्सवमा सांगीतिक कार्यक्रममार्फत समेत दर्शकले रमाइलो अनुभुति गरेका थिए।
महोत्सवमार्फत स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्रान्डका विभिन्न सामान एकैथलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई एकै थलोमा प्रदर्शन गर्दै प्रचार गर्ने उद्देश्य राखिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटाका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रबिधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको थियो।
महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरूको भीड देखिन्थ्यो भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटेपिङ, ड्रागन ट्रेन, नाउ तथा बच्चाका विभिन्न प्रकारको खेलौना र विभिन्न प्रकारका खानामा उपभोक्ताको त्यत्तिकै भीड देखिन्थ्यो।
महोत्सवमा भक्तपुर वाइल्ड फायर नाइट नाम दिएर चर्चित गायक प्रमोद खरेल एन्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको संयक्त प्रस्तुतिदेखि दैनिक हुने सांस्कृतिक कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल, लोकगायक नवराज घोरासैनी, चर्चित गायिका रचना रिमाल, एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन विष्ट, रमेश मेलोडी, जङ्की रोयल्स ब्यन्ड, भोजराज काफ्ले, गड एक्स, मीना गिरी, प्रिती पासवान, उर्गेन डोङ, सोनु कुस्मी, कपिल कसपाल, जोकर, राजेन्द्र गुन्द्रुकेलगायतको प्रस्तुति र नृत्य प्रतियोगिताले महोत्सवको रौनक थपेको थियो। महोत्सवको सोमबार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले समापन गरेका छन्।



