मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँमा सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु : पहिलो दिन नै ९ जनाको उद्धार

काठमाडौँमा सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु : पहिलो दिन नै ९ जनाको उद्धार

images
२०८३ बैशाख ३ गते, बिहिवार
२०८३ बैशाख ३ गते, बिहिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रबाट सडक आश्रित सहयोगापेक्षीहरुको उद्धार कार्य सुरु गरेको छ।

    images

    काठमाडौँलाई सडक आश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन महानगरपालिकाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरुको सहभागिताका सडकमा रहेका विरामी, मानसिक तथा शारीरिक रुपमा अशक्त, वेवारिसे व्यक्तिहरुलाई उद्धार गर्न थालेको हो।

    images

    यस कार्यको पहिलो दिन बिहीबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, गायिका आनी छोइङ् डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली रात्रिकालीन सडक सेवाका लागि पशुपति क्षेत्र पुगेको थियो।

    पहिलो दिन नै पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षिय पुरुष, रामेछाप घर भएका ५० वर्षिय, ४८ वर्षिय र ४१ वर्षिय गरी ३ जना पुरुष र काभ्रे घर भएका ४८ वर्षिय १ जना र ५० वर्षिय एक जना व्यक्ति गरी ६ जनालाई उद्धार गरिएको छ।

    उनीहरुमध्ये ३ जना सामान्य अवस्थाका छन्। एक जनाले पाइपबाट पिसाव निकाल्न युरिन क्याथेटर लगाएका छन्। एकजनाको वायाँ खुट्टा काटिएको छ। तस्तै अर्का एक जनाले क्षयरोगको औषधि सेवन गरिरहेको पाइएको छ।

    पशुपति क्षेत्रपछि सेवाका लागि खटिएको टोली कालीमाटी पुगेको थियो। कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षिय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षिय एक जना पुरुषको उद्धार गरिएको छ। उनीहरू दुवैको अवस्था सामान्य छ।

    आज टेकु क्षेत्रबाट धादिङ् घर बताउने करिब ६० वर्षिय एक जना ज्येष्ठ नागरिकको पनि उद्धार भएको छ।

    उद्धार तथा पहिचान, उपचार तथा पुनःस्थापना कार्यलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्च स्तरीय समन्वय समिति गठन गरिएको छ।

    सो समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, गुठि संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधि सदस्य छन्। समितिको सदस्य सचिवमा सामाजिक विकास विभागका प्रमुख तोकिएका छन्।

    महानगर प्रहरी बलले तोकेको अधिकारीको संयोजकत्वमा अवस्था अध्ययन, उद्धार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि सहजीकरण कार्यदल गठन गरिएको छ।

    यसमा नेपाल प्रहरीले तोकेको एक जना अधिकारी र मानव सेवा आश्रमले तोकेका २ जना प्रतिनिधि रहनेछन। सार्वजनिक तथा सम्पदा क्षेत्रमा सहयोगापेक्षीहरुको अवस्था अध्ययन गर्ने, उद्धार सेवा सञ्चालन गर्ने, स्क्रिनिङ् गर्ने, उपचारका लागि सहजीकरण गर्ने, पारिवारिक तथा सामाजिक पुनःस्थापना गर्ने काम टोलीले गर्नेछ। टोलीले हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म, दिउँसो १ बजेदेखि ३ बजेसम्म र साँझ ८ बजेदेखि १० बजेसम्म उद्धार सेवा सञ्चालन गर्नेछ।

    यसरी सहयोगापेक्षीहरुको उद्धार कार्यमा रहेको बेला मानवतामा आधारित काठमाडौँ निर्माण कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘सडकमा माग्न बस्नु भएका सबैलाई सहयोग गर्नु पर्ने अवस्थाको हुनुहुन्न। कोहीले माग्ने कामलाई पेशा बनाउनुभएको छ। कोही दुव्र्यसनका कारण पारिवारिक वेमेलका कारण सडकमा आउनु भएको छ। उहाँहरुको अवस्थाका आधारमा व्यवस्थापन गर्ने योजना अनुरुप उद्धार कार्य थालेका हौँ।’

    उनले भनिन्, ‘उद्धारपछि अवस्था र आवश्यकता पहिचान गर्छौँ। स्वास्थ्य परीक्षण, मनोसामाजिक परामर्श सहितका सेवा प्रदान गर्छौँ। र, मानवोचित व्यवस्थापनको काम गर्छौँ।’ 

    महानगरपालिकाले अहिले काठमाडौँलाई सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउने अभियानलाई तीव्रता दिएको हो।

    यसका लागि महानगरपालिकाका सामाजिक विकास विभाग र महानगर प्रहरी बलले मानव सेवा आश्रम, नेपाल प्रहरी, वडा कार्यालय र स्थानीयसँग समन्वय गरेर अभियान सञ्चालन गरिरहेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend