काठमाडौँ। काठमाडौँमा २०८३ बैशाख १ गते अर्थात आजदेखि रात्री बस संचालन हुँदैछ। काठमाडौँ महानगरपालिकाले यात्रुहरूको सुविधालाई ध्यान दिंदै पहिलो चरणमा विभिन्न चार वटा रुटमा रात्री बस संचालन गर्न लागेको हो। हरेक रुटका बस सुरु र अन्तिम विन्दुबाट गुड्नेछन्। यसरी गुड्ने रात्री बस साझा यातायातका हुनेछन्म
साझाले ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्ने एउटा रुटमा बस चलाउने छ।
यसैगरी अर्को रुटमा चल्ने बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ।
यस्तै नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट अर्को बस छुट्नेछ। हरेक बस विसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ। यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो। पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ। यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ।
यसैगरी अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ। नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ। यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन्।
यसरी बस सञ्चालन गर्दा नयाँ सडक गेट अगाडिको भाग मुख्य चोक बन्नेछ। यो ठाउँमा पुगेपछि यात्रीहरुले एउटा रुटबाट अर्को रुटमा जाने बस पाउनेछन्।
यी बस काठमाडौँ महानगरपालिकाका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाका सडक भएर गुड्ने छन्।
बस सञ्चालनको प्रारम्भमा ७ वटा बसबाट सेवा सुरु हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ।
यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले कसैको कुनै पनि सामान बसमा छुटे प्राप्त गर्न सकिनेछ। कसैले दुर्ब्यवहार प्रयास गर्छ भने तत्काल नियन्त्रणमा लिन सकिनेछ। यात्रीहरुको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पनि खटाउनेछ।



