भक्तपुुर। भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा जारी भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२-८३ को तीनदिनमै २० हजार दर्शकले अवलोकन गरेका छन्।
नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर गत चैत २६ गतेबाट महोत्सवको दशौँ संस्करण सुरु भएको थियो। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सुरु महोत्सवमा यसपटक मुख्य आकर्षणका रुओअमा लण्डन ब्रीज राखिएको छ।
संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवमा लण्डन ब्रीज हेर्ने र फोटो खिच्नेको संख्या उल्लेख्य रहेको जानकारी दिए।

उनका अनुसार महोत्सवमा उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उदेश्यले १२ बर्षअधिदेखि मेला आयोजना हुँदै आएको छ। मेलामा स्थानीय उत्पादनदेखि, उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्दै आएको अध्यक्ष महतले जानकारी दिए।
महोत्सव आयोजक समितिका संयोजक दीपक थापाका अनुसार, दैनिक रुपमा नाम चलेका कलाकारको सांगीतीक प्रस्तुतीले महोत्सवको रौनक बढाएको छ। महोत्सवमा बालबालिका र विद्यार्थीका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेलका साधनहरु राखिएको छ।

महोत्सवका निर्देशक सुनिल बज्राचार्यका अनुसार, महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू छन्। महोत्सव अवलोकन गर्ने सर्वसाधारणले एक सय रूपैयाँको टिकट काट्नु पर्छ।
विद्यार्थीले प्रवेशका लागि ५० रूपैयाँ तिर्नुपर्छ भने जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको निर्देशक बज्राचार्यले जानकारी दिए। महोत्सव बैशाख ६ गतेसम्म संचालन हुने छ।




