ताप्लेजुङ। मौसममा सुधार भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने दर्शनार्थीको संख्या वृद्धि भएको छ।
शनिबार एकै दिन सात हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार केही दिनयता मौसममा सुधार भएसँगै पाथीभरामा उल्लेख्य भक्तजन आउन थालेका हुन्।
समितिका अनुसार शनिबार एकैदिन सात हजार २२ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। यो संख्या पछिल्ला केही समय यताकै उच्च हो। रामनवमी र चैते दशैपछि शनिबार एकैपटक दर्शनार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
दसैँ–तिहारपछि चैत-बैशाखको समयलाई पाथीभरा माताको दर्शनका लागि उपयुक्त समय मानिन्छ। पानी कम पर्ने र पैदल यात्रा गर्नसमेत सहज हुने हुँदा यो मौसममा दर्शनार्थीहरुलाई यात्रामा सहज हुने गरेको महत बताउँछन्।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले चैतको पहिलो साताको अन्तिमदेखि मौसममा केही सुधार आएसँगै भक्तजनको भिड बढ्न थालेको बताए।
समितिका अनुसार चैत महिना यता शुक्रबारसम्ममा ३६ हजार ७३६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। शुक्रबारसम्मको उक्त सङ्ख्या र शनिबारको समेत गरी चैत महिनामा अर्थात शनिबारसम्ममा पाथीभरा दर्शन गर्ने भक्तजनको ४३ हजार ७५८ पुगेको छ।
पाथीभरा दर्शनमा आउनेको सङ्ख्या बढ्न थालेसँगै सदरमुकाम फुङ्लिङसहित पाथीभरा क्षेत्रका होटलहरुसमेत भरिभराउ भएका छन्। यहाँ देशका विभिन्न भागबाट दर्शनार्थीहरु आउने गरेका छन् भने भारतका समेत विभिन्न स्थानबाट आउने भक्तजनहरु उल्लेख हुने गरेका छन्।



