काठमाडौँ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन्।
औषधिको मूल्यको विषयमा विवादित बनेपछि ढकाललाई स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालय हाजिर हुने गरि पत्र थमाएकी हुन्।
निर्णय अनुसार ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयमै कामकाजमा खटाइएको हो।
‘नेपाल सरकार मन्त्रीस्तरीयको मिति २०८२/१२/२६ को निर्णानुसार तपाईंलाई अर्को व्यवस्था नभएसम्मका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कामकाजमा खटाइएको व्यहोरा अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ।
गत बुधबारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य राजीव खत्रीले विभागका महानिर्देशक ढकालमाथि चलखेल गरी औषधीको मूल्य बढाएको आरोप लगाएका थिए।
सोही आरोपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले बिहीबार ढकालसँग जवाफ मागेको थियो। प्रधानमन्त्री कार्यालयले जवाफ माग्नु अघि नै मन्त्री मेहताले ढकाललाई मन्त्रालय तानेकी हुन्।



