हेटौँडा। बागमती प्रदेशको प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रदेश अन्तर्गत रहेका मन्त्रालयको संख्या घटाएर १३ बाट ७ मा सिमित गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले प्रदेशमा रहेका १३ मन्त्रालयलाई ७ मा झार्ने निर्णय गरेको हो। संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा दलको बैठक काठमाडौँमा बसेको हो।
प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासनिक पुनःसंरचना समितिले बुझाएको मस्यौदामा मन्त्रालयको संख्या १३ वटाबाट ७ वटामा सीमित राख्न सिफारिस गरेको थियो।
बैठकले उक्त सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको संसदीय दलका सचिव मिनकृष्ण महर्जनले जानकारी दिए।
उनका अनुसार समितिको सिफारिस बमोजिम प्रदेशमा रहेको ७ वटा निर्देशनालयलाई २ वटामा सीमित राख्ने र ५ वटा खारेज गर्ने निर्णय गरेको छ।
यसैगरी बैठकले हाल कायम रहेका कर्मचारी दरबन्दीमध्ये ७०१ जना कर्मचारी कटौती गर्ने सिफारिसलाई सरकारमा सहभागी २ दलको आपसी छलफलमा पारित गर्ने निर्णय गरेको उनले जानकारी दिए।
बैठकले आगामी एक हप्ताभित्र प्रदेशसभा बैठक सञ्चालन गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, बागमती प्रदेश सभा सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने तथा विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामालाई बधाई तथा शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको छ।



