काठमाडौँ। चीनबाट नेपालमा अवैध रुपमा चुरोट आउँछ भन्दा सामान्य लाग्ला तर बिरामी बोक्ने एम्बुलेन्समा चुरोट आउँछ भन्दा चाहिँ अचम्म लाग्न सक्छ। यो वास्तविक सूचना हो। शनिबार प्रहरीले यस्तै अवस्थाको सामना गर्यो।
यो घटना हो, रसुवाको। रसुवाबाट काठमाडौँ ल्याउँदै गर्दा शुक्रबार प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा चुरोट नियन्त्रणमा लियो। यो घटनाले उत्तरी नाकाबाट अवैध रुपमा नेपालमा चुरोट भित्र्याइने गरेको र एम्बुलेन्समार्फत काठमाडौमा चुरोट ओसारपसार हुने गरेको तथ्य देखाउँछ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको उत्तरगया गाउँपालिका –५ स्थित पासाङ ल्हामु राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी साधन जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेको एम्बुलेन्सबाट ठुलो परिमाणमा चुरोट बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका सुचना अधिकारी रामेश रायका अनुसार बाप्र ०१००२ झ ५४२६ नम्बरको एम्बुलेन्सभित्र अगाडि तथा पछाडिको भागमा लुकाइछिपाइ गरी राखिएको ‘हर्मोनाइजेशन’ लेखिएको ३ हजार ४ सय ४० बट्टा चिनियाँ चुरोट फेला पारिएको हो। बरामद चुरोटको अनुमानित मूल्य करिब आठ लाख ९० हजार रुपियाँ बराबर पर्छ।
एम्बुलेन्स प्रयोग गरी अवैध रूपमा चिनियाँ चुरोट ओसार–पसार गर्ने चार जनालाई पक्राउ गरिएको रायले जानकारी दिए। सो एम्बुलेन्स गतलाङ स्थित स्वास्थ्य चौकीको रहेको बताइएको छ।
पक्राउ पर्नेमा आमाछोदिङमो गाउँपालिका –३ का ४३ वर्षीय दावा तामाङ (चालक), २७ वर्षीय माक्सु तामाङ, ३२ वर्षीय सुसिल तामाङ र ३६ वर्षीया सुनिता तामाङ छन्।
रसुवा प्रहरीले घटनामा प्रयोग गरिएको एम्बुलेन्स तथा चुरोट बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ।
यो घटनाले यसअघि समेत चिनियाँ चुरोट अवैध रुपमा नेपाल भित्रने गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यो सडकमा विगत देखिनै एम्बुलेन्सलाई अवैध धन्दा गर्नेहरुले सुरक्षित साधनका रुपमा ओसारपसारमा प्रयोग गर्ने गरेको पाइन्छ।



