काठमाडौँ। कपिलवस्तुमा हिन्दू र मुस्लिम समुदायका युवाबिच तनावको अवस्था बनेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शनिबार एक सूचना जारी गर्दै जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।
शनिबार मन्दिरमा भजन गाउँदा तोडफोड भएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबिच तनाव उत्पन्न भएको थियो।
सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना मर्फत जनाएको हो।
उक्त आदेशको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन सक्ने तथा कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ। सूचनामा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ।



