काठमाडौँ। काठमाडौलाई पूर्वी तराई र पहाडी जिल्लासँग जोड्ने बीपी राजमार्ग वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार भएको वर्षापछि रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक रविन बिष्टका अनुसार रोसी खोलामा पानीको बहाव बढेपछि अस्थायी रूपमा निर्माण गरिएको सडकका केही भाग क्षतविक्षत बनाएको छ। सडकमा पानी पसेर केही भाग क्षतविक्षतभएपछि आवागमन ठप्प भएको हो।
प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत चारसयबेसी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ। अवरुद्ध सडक खुलाउन सडक डिभिजन भक्तपुर र निर्माण व्यवसायीसँग समन्वय भइरहेको छ।
गत वर्षको असोज महिनामा आएको बाढीले भकुण्डेबेसीदेखि नेपालथोकसम्मको करिब २८ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुर्याएको थियो। केही समययता यो सडकमा यात्रुहरू कष्टकर यात्रागर्न बाध्य हुँदै आएका छन्।



