काभ्रे। अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडक खण्ड आगामी दुई हप्ता रातिको समयमा बन्द गरिने भएको छ।
सो सडक कालेपत्र (पक्की) बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधन बन्द गरिने भएको हो।
निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता भएको थियो। सो सम्झौपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिन लागिएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै कालोपत्रेका लागि उक्त समयमा रातका समयमा यातायातका साधान सञ्चालनमा रोक लगाइएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशले जानकारी दिए।
उक्त सडकखण्डमा चैत ७ देखि २० गतेसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारी साधन संचालनमा रोक लगाइने छ। यस्तै उक्त समयमा यात्रुवाहक बस पनि चल्न रोक लगाइएको र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यसैगरि टिपर र ट्रकलगायत (पास लिएकासमेत) मालबहाक सवारीका साधनलाई चौबिसै घण्टा चलाउन रोक लगाइएको छ।
उक्त सडकखण्डमा निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ। कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनःबोलपत्र आह्वान गरेको थियो।
चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्ने अपेक्षा गरिएको छ। जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो।
सम्झौताका समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीसंग ठेक्का रद्द गरेको थियो। सडक बिस्तारको काम कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो।
अरनिको राजमार्गहुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन्।



