मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आधारभूत तह उत्तीर्ण परीक्षा

यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी हुँदै

यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी हुँदै

images
२०८२ फाल्गुण २७ गते, बुधवार
२०८२ फाल्गुण २७ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ।

    images

    चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो। गत माघ १४ गते बसेको बैठकले चैत ५ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

    images

    यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन्। यसमा १० हजार ७४५ जना छात्र र ८ हजार ३७२ जना छात्रा छन्।

    विद्यालयको प्रकृतिका आधारमा हेर्दा, २ वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका ४ हजार ६१४ जना, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी सहभागी हुने परीक्षा समितिका अध्यक्ष एवं शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

    उनका अनुसार गएको वर्ष १८ हजार २९४ जना विद्यार्थीले परीक्षा दिएका थिए। यसरी हेर्दा गएको वर्षभन्दा यस वर्ष ८२३ जना बढी विद्यार्थीले परीक्षा दिँदैछन।

    परीक्षालाई विश्वसनीय, व्यवस्थित र प्रभावकारी बनाउँदै संस्थागत विद्यालयहरुको कक्षा ८ को वार्षिक परीक्षासमेत महानगरपालिकाबाटै सञ्चालन, व्यवस्थापन र प्रमाणीकरण हुनेछ।

    यस वर्ष होम सेन्टर नपर्ने गरी ४७ वटा सामुदायिक विद्यालयमा र १० वटा संस्थागत विद्यालयमा गरेर ५७ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको समितिका सदस्य सचिव एवं विद्यालय व्यवस्थापन महाशाखा प्रमुख इन्द्रप्रसाद दाहालले जानकारी दिए।

    गएको वर्ष होम सेन्टर नपर्ने गरी ५६ वटा परीक्षा केन्द्र कायम गरिएका थिए। दाहालका अनुसार अटिजम भएका तथा लेखन सहयोगी आवश्यक पर्ने विद्यार्थीहरुका लागि भने होम सेन्टरमै प्रश्न पत्र पठाएर परीक्षा लेख्ने प्रबन्ध गरिनेछ।

    परीक्षा केन्द्र निर्धारण गर्दा आवतजावतमा सहज होस् भन्ने उद्देश्यले भौगोलिक दूरी र उपयुक्ततालाई आधार मानिएको छ। केन्द्रीय बहिरा माध्यमिक विद्यालय, नक्सालमा अध्ययनरत विद्यार्थीहरू विशेष प्रकृतिका (बहिरा) भएकाले उनीहरूको विशिष्ट आवश्यकतालाई ध्यानमा राखी सोही विद्यालयमा नै परीक्षा केन्द्र कायम गरिएको छ।

    जगन्नाथ देवल माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय कारागार (जेल) भित्र सञ्चालित रहेको र सुरक्षा संवेदनशीलताका कारण विद्यार्थीहरू बाहिर जान सहज नहुने हुँदा, ती विद्यालयहरूको परीक्षा केन्द्र त्यही विद्यालयमा नै कायम गरिएको छ। 

    परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम गरिएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ। केन्द्राध्यक्षको नियुक्ति पत्र शिक्षा विभागले दिनेछ। कार्यभारका आधारमा प्रधानाध्यापकले केन्द्राध्यक्ष रहने सक्ने अवस्था नरहेमा सहायक प्रधानाध्यापक वा प्रधानाध्यापकले तोकेको विद्यालयको वरिष्ठतम शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी प्रदान गरिने बैठकले निर्णय गरेको छ।

    समितिले केन्द्राध्यक्ष खटनपटन, उत्तरपुस्तिका परीक्षणका लागि कोडिङ गर्ने जनशक्ति तथा परीक्षकको तयारीका लागि अभिमुखीकरण आयोजना गर्ने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend