बैतडी। प्रतिनिधि सभाको निर्वाचनको प्रचारप्रसारका क्रममा बैतडीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबिच झडप भएको छ। झडपमा तीन जना घाइते भएका छन्।
चुनावी घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले र रास्वपाका कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना र राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना घाइते भएका हुन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
बुधबार अपराह्न जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेकटोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवै पक्षबिच झडप भएको प्रहरीले बताएको हो।
सो क्रममा डिलासैनी–७ घर भएका एमाले निकट युवा सङ्घका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका थिए। झडपमा रास्वपा समर्थक लालबहादुर धामी पनि घाइते छन्।
घाइते भएका एमाले कार्यकर्ताको धनगढीमा उपचार भइरहेको छ भने रास्वपाका समर्थक सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज सिंहले जानकारी दिए।
सिंहका अनुसार घटनाको अनुसन्धानमा सोधपुछका लागि पाँच जनालाई पक्राउ गरिएको छ। घटना अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन।
झडपपछि जिल्ला प्रहरी कार्यायबाट प्रहरी निरीक्षकको टोली डिलासैनीमा तैनाथ छ।
झडपपछि एमाले र रास्वपाले अलग अलग विज्ञप्ति जारी गर्दै एकअर्कालाई दोष लगाएका छन् भने दुवै पक्षले घटनामा संलग्नको पहिचान गरी कारबाहीको माग गरेका छन्।
एमाले र रास्वपाबिच झडप भएको अघिल्लो दिन मङ्गलबार डिलासैनी गाउँपालिकाकै गन्नामा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रचारकबिच विवाद भएको थियो।
नेकपाका उम्मेदवार परमानन्द भट्ट डिलासैनी पुग्दा त्यहाँ दुवै पक्षबिच सामान्य विवाद भएको थियो। अप्रिय घटना नभएको नेकपाका नेता प्रतीक कुँवरले बताए।
निर्वाचन नजिकिँदै जाँदा झडपको स्थिति आएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी बताउँछ। डिलासैनीमा झडप भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीसमेत गरेर दुई हजार सात सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।



