काठमाडौँ। काठमाडौँको टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले टेकुस्थित होटलमा बन्धक बनाइएका ती व्यक्तिको सकुशल उद्धार गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ‘रोडलाईन प्यालेस होटल’ बाट ती ब्यक्तिको उद्धार गरिएको हो।
उक्त होटलका सञ्चालक शिव बहादुर घर्तीबाट होटलको कोठा नं. १०५ मा पूर्ण बहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते बनाइएको भन्ने विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। सोही सूचनाका आधारमा उद्धारका लागि प्रहरी खटिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिव बहादुर घर्ती रहेका छन्।
पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।




