रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न लगाइएको कर्फ्यु आदेश आइतबार बिहान केही समयका लागि खुकुलो पारिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि कर्फ्यु आदेशलाई खुकुलो पारिएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचना अनुसार, आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म गरी दुई घण्टाका लागि कर्फ्यु खुकुलो पारिएको हो। तर, बिहान ८ः३० बजेपछि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु पुनः यथावत रहने छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको यस आदेशको उल्लंघन गरेमा सुरक्षाकर्मीले कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
प्रशासनका अनुसारबिहान ८ः३० पछि घरबाहिर निस्कन, हिँडडुल गर्न र सवारी साधन चलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। कर्फ्यु प्रभावित क्षेत्रमा कुनै पनि प्रकारको सभा, जुलुस, घेराउ वा प्रदर्शन गर्न पाइने छैन।कफ्र्यूको समयमा पनि एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका सवारी साधन जस्ता अत्यावश्यक सेवाहरूलाई भने कुनै अवरोध नहुने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यलय गौरका अनुसार पुर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय सम्म कर्फ्यु
आदेश जारी रहेको उल्लेख गरेको छ।
गौरको सवगढामा दुई पक्ष बीचको झडपका कारण स्थिति तनावपूर्ण बनेपछि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले शुक्रबारदेखि नै कडा कदम चालेको हो। प्रशासनले सबै नागरिकलाई शान्ति सुव्यवस्था कायम राख्न र सरकारी आदेशको पूर्ण पालना गर्न अपिल गरेको छ।



