उदयपुर। उमेर ७० वर्ष पुगे पनि ऊर्जा र सक्रियतामा युवालाई उछिन्ने शैलीमा चुनावी मैदानमा उत्रिएका छन् नेपाली कांग्रेसका नेता विदुर बस्नेत। घरदैलो अभियानमा उनीसँगै हिँड्ने युवाहरू नै थाक्ने गरे पनि बस्नेत भने मतदातासँग संवादमा उत्तिकै ताजगीका साथ प्रस्तुत हुन्छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार बनेका बस्नेत अनुभव, सक्रियता र आत्मविश्वासका कारण चर्चामा छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले दुई कार्यकाल उदयपुर कांग्रेसको जिल्ला सभापति भएर नेतृत्व सम्हालिसकेका छन्।
राजनीतिक परिवारबाट आएका बस्नेत अहिलेसम्म निस्कलंक छविका नेताका रूपमा परिचित छन्। विपक्षी दलका नेताहरूले समेत व्यक्तिगत रूपमा खोट लगाउन नसक्ने व्यक्तित्वका रूपमा उनको चर्चा हुने गरेको छ।
उदयपुर–१ कांग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिन्छ। यही क्षेत्रबाट कांग्रेस नेता डा. नारायण खड्काले लगातार जित हात पार्दै आएका छन्। यही पृष्ठभूमिमा उम्मेदवार बनेका बस्नेत आफ्नो जितप्रति पूर्ण विश्वस्त देखिन्छन्। “चुनावमा उठ्ने त अरु पनि छन्, तर मेरो प्रतिस्पर्धा कसैसँग छैन,” उनी भन्छन्।
बस्नेतका चुनावी एजेन्डा स्थानीय समस्यामै केन्द्रित छन्। उदयपुरमा बाढी र पहिरो दीर्घकालीन समस्या भएको उल्लेख गर्दै उनले तटबन्ध निर्माणलाई प्राथमिकता दिने बताएका छन्। त्यस्तै, डा. नारायण खड्काले सुरु गरेको उदयपुर विमानस्थल निर्माणको कामलाई पूर्णता दिन प्रभावकारी पहल गर्ने उनको प्रतिबद्धता छ।
सुकुम्बासी समस्या समाधान, उदयपुरलाई कृषि र शिक्षाको केन्द्रका रूपमा विकास गर्ने तथा रोजगारी सिर्जनामा जोड दिने उनका अन्य मुख्य योजना हुन्।
पार्टीबारे बोल्दै बस्नेत नेपाली कांग्रेसलाई इतिहास बोकेको पुरानो तर नयाँ नेतृत्वबाट ऊर्जा प्राप्त गरेको पार्टीका रूपमा व्याख्या गर्छन्। “विशेष महाधिवेशनपछि देशभर कांग्रेसप्रति नयाँ उत्साह देखिएको छ,” उनले बताए।
अनुभव र उत्साहको संयोजनका रूपमा प्रस्तुत भएका बस्नेत उदयपुर–१ मा यसपटकको निर्वाचन सहज जितमा बदल्ने तयारीमा सक्रिय देखिन्छन्।



