काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्।
हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन्।
मंगलबार विज्ञप्ति जारी गर्दै शर्माले पार्टीभित्र इमानदार र प्रतिबद्ध व्यक्तिहरूको उचित मूल्यांकन नभएको तथा निर्णय प्रक्रियामा आर्थिक अनियमितताको प्रभाव परेको आरोप लगाएकी छन्। यस्तो वातावरणमा आफूले आत्मसम्मान जोगाउन नसक्ने निष्कर्षसहित पार्टी छोड्ने निर्णय गरेको उनको भनाइ छ।
उनले विज्ञप्तिमा भनेकी छन्, “आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।”
शर्मा रास्वपाको मधेश प्रदेश संगठन निर्माणका प्रारम्भिक चरणदेखि सक्रिय थिइन्। पार्टी स्थापनाकालदेखि नै संगठन विस्तारमा भूमिका खेलेकी उनी पछिल्लो समय केन्द्रीय विभागमा पनि जिम्मेवारीमा थिइन्।
यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी परित्याग गरेका थिए। शर्माको राजीनामाले मधेश प्रदेशमा पार्टी संगठनलाई थप चुनौती थपिने विश्लेषण गरिएको छ। उनी आज जनकपुरमा हुने कांग्रेसको चुनावी सभामा कांग्रेस प्रवेश गर्दै छिन्।



