काठमाडौँ। नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा भोलि जनकपुरधाममा आयोजना हुने प्रतिज्ञा सभाको सबै तयारी सकिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसको पहिलो ऐतिहासिक प्रतिज्ञा सभा जनकपुरमा गर्न लागेको हो। यो सभामा एक लाख नेता कार्यकर्ता उतार्ने कांग्रेसको तयारी छ।
उक्त प्रतिज्ञा सभालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
`मधेशको पवित्र भूमि, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा लिएका छौं´ जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेस मधेस प्रदेश कार्यसमितिले भनेको छ।
`नेपाली कांग्रेस र मधेशको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको छ। २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनसम्म मधेशका वीर सपूतहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।´ पत्रकार सम्मेलनमा भनिएको छ।
मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवले बताए।
`यो अवसरमा मधेशपुत्र दुर्गानन्द झा, नारायण मिश्र, महेन्द्रनारायण निधी लगायतका नेताहरुलाई स्मरण गर्न चाहान्छु। मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको छ। मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस सधैं प्रतिबद्ध रहँदै आएको छ।´ यादवले भने।
कांग्रेसले आफ्नो आगामी चुनावी घोषणा पत्रको रूपमा सार्वजनिक गर्न गइरहेको “प्रतिज्ञा पत्र” मधेशबाटै प्रारम्भ गर्ने निर्णय गरेको हो।
`मधेशबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्नुको अर्थ स्पष्ट छ—नेपाली कांग्रेस मधेशलाई केवल चुनावी भूगोलका रूपमा हेर्दैन, बरु परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिन्छ। मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्नेछ।
प्रतिज्ञा सभा मार्फत नेपाली कांग्रेसले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता सार्वजनिक गर्नेछ। सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा स्पष्ट धारणा प्रस्तुत गरिनेछ।´ यादवले भने।



