बैतडी। बैतडीमा जन्तीबाट फर्कदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्कदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा आज बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार दुर्घटनामा परेर एक महिला र सात पुरूषको मृत्यु भएको छ।
“८ जनाको घटनास्थलमै मृत्यु भएको अवस्था छ, एक महिला र सात पुरुष छन् गरी ८ जनाको शव भेटिएको छ, उनीहरुको सनाखत हुन बाँकी छ।” जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बडूले भने।
उनका अनुसार दुर्घटनामा परेर घाइते भएका ४५ जनाको उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ।
प्रहरीले उकालो सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको हुनसक्ने र थप अनुसन्धान भइरहेको बताएको छ।



