काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला चितवन पुगेका छन्।
बुद्ध एयरको विमानमार्फत उनी आज चितवनको भरतपुर पुगेका हुन्। उनीसँगै उनकी श्रीमती निकिता पौडेल पनि साथमा छिन्। लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छन्। उनी यसअघि पनि सोही क्षेत्रबाट उम्मेदवार थिए।
चितवन पुगेका लामिछानेले आज लंकुमा रहेको लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन्। त्यहाँबाट उनी भरतपुरस्थित विशालचोकमा रहेको घरमा जाने उनको सचिवालयले जनाएको छ।
खुट्टामा संक्रमण भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार सकेर उनी केही दिनअघि डिस्चार्ज भएका थिए। जनकपुरमा माघ ५ गते आयोजित पार्टीको चुनावी सभामा जाँदा उनको खुट्टामा संक्रमण भएको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा कतै देखिएका थिएनन्। उनी चितवन जाँदै गर्दा उनको खुट्टामा ब्यान्डेज लगाइएको देखिएको छ।
काठमाडौंबाट जाँदा पत्नी निकिताले उनलाई एम्बुलेन्समा राखेर जहाजसम्म लगेकी थिइन्।



